२०८३ कार्तिक ११ गते बुधवार / Oct 28 , 2026 , Wednesday
२०८३ कार्तिक ११ गते बुधवार

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

Nada
२०८३ कार्तिक ११ गते १९:२१
Shares
शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं : शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका राजदूत ड्यानीएल मेउलीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा बुधबार भएको भेटका क्रममा द्विपक्षीय सम्बन्ध, बाढी पहिरोबाट भएको क्षतिप्रति संवेदना तथा शिक्षा क्षेत्रको आगामी सहकार्यबारे छलफल भएको छ ।

भेटका क्रममा मन्त्री पोखरेलले नेपालको शिक्षा क्षेत्रमा स्विस सरकारले पुर्‍याउँदै आएको दीर्घकालीन सहयोगका लागि धन्यवाद ज्ञापन गरे । उनले आगामी दिनमा पनि शिक्षा क्षेत्रमा स्विस सहयोग र सहकार्यले निरन्तरता पाउने र नयाँ आयामका साथ अघि बढ्ने विश्वास व्यक्त गरे ।

मन्त्री पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम (टीभेट) सम्बन्धी नयाँ ऐन निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए । सो ऐन पारित भएपछि प्राविधिक शिक्षाका क्षेत्रमा महत्त्वपूर्ण नीतिगत सुधार हुने, सीटीईभीटीको पुनर्संरचना हुने र प्राविधिक तथा व्यावसायिक शिक्षा थप व्यवस्थित बन्ने उनले स्पष्ट पारे ।

साथै, प्राविधिक तथा व्यावसायिक शिक्षाका साथै आगामी दिनमा उच्च शिक्षाको क्षेत्रमा पनि दुई देशबीच सहकार्य विस्तार गर्न सकिने मन्त्री पोखरेलले बताए । 

विशेष गरी शिक्षक (फ्याकल्टी) तथा विद्यार्थी आदानप्रदान जस्ता कार्यक्रममार्फत उच्च शिक्षामा सहकार्य बढाउन सकिने सम्भावनाबारे मन्त्री पोखरेलले जोड दिए ।

सो अवसरमा राजदूत मेउलीले हालै भोटेकोशीमा आएको बाढीले पुर्‍याएको मानवीय र भौतिक क्षतिप्रति स्विस सरकारका तर्फबाट गहिरो संवेदना व्यक्त गरिन् । मानवीय क्षति तथा आपतकालीन अवस्थालाई सम्बोधन गर्न स्विस सरकारले नेपाल सरकारलाई उपलब्ध गराएको तत्काल सहायता र पुनर्स्थापना सहयोगबारे मन्त्री पोखरेललाई अवगत गराइन् ।

नेपाल र स्विट्जरल्याण्डबिच लामो समयदेखि रहँदै आएको द्विपक्षीय सम्बन्ध आगामी दिनमा पनि निरन्तर रहने विश्वास व्यक्त गर्दै राजदूत मेउलीले स्विस सरकारको विश्वव्यापी द्विपक्षीय सहयोग नीतिको परिवर्तन अनुसार नेपालमा भविष्यमा हुने सहयोगका प्राथमिकता र स्वरूपमा पर्न सक्ने प्रभावबारे पनि जानकारी दिइन् ।

सम्बन्धित खबर