
दोहा : कतारमा कार्यरत नेपाली श्रमिक तथा समग्र नेपाली समुदायका साझा सरोकार र समस्याबारे गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसिसी) कतारले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको ध्यानाकर्षण गराएको छ । एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंक (एआइआइबी)को ११औं वार्षिक बैठकमा सहभागी हुन कतार आएका अर्थमन्त्री वाग्लेसँग दोहास्थित नेपाली दूतावासमा आयोजित भेटघाटका क्रममा एनसिसी कतारका अध्यक्ष कृष्ण पन्थीले नेपाली श्रमिक तथा समुदायका सरोकार समेटिएको ज्ञापन पत्र हस्तान्तरण गरेका हुन् ।
कतारमा क्रियाशील नेपाली संघसंस्था, श्रमिक तथा समग्र नेपाली समुदायका तर्फबाट प्रतिनिधित्व गर्दै अध्यक्ष पन्थीले वैदेशिक रोजगारीमा रहेका नेपालीले भोग्दै आएका व्यावहारिक समस्या, श्रमिक अधिकार, सामाजिक सुरक्षा, कन्सुलर सेवा तथा आपत्कालीन उद्धारलगायतका विषय सरकारको ध्यानाकर्षण गराएको मध्यान्ह दैनिकलाई जानकारी दिए ।
ज्ञापनपत्रमा नेपाली दूतावासमा श्रमिक सहायता डेस्क स्थापना गरी प्रभावकारी सञ्चालन गर्नुपर्ने, दूतावासका सेवाका लागि सुरक्षित डिजिटल भुक्तानी प्रणाली लागू गर्नुपर्ने तथा श्रमिक कल्याण कोषको रकम पारदर्शी र प्रभावकारी रूपमा श्रमिककै हितमा उपयोग गर्नुपर्ने माग गरिएको छ । रोजगारदाताबाट तलब, आवास तथा श्रमिकका आधारभूत अधिकार सुनिश्चित गर्ने व्यवस्था प्रभावकारी बनाउनुपर्ने, राहदानी तथा अन्य कन्सुलर सेवाको शुल्क पुनरावलोकन गर्नुपर्ने र श्रमिकका गुनासोमा सहज कानुनी सहायता तथा परामर्शको व्यवस्था गर्नुपर्ने विषय पनि ज्ञापन पत्रमा समेटिएको छ ।
बिरामी, बेखर्ची वा अलपत्र परेका नेपालीको आपत्कालीन उद्धार तथा स्वदेश फिर्ताको प्रक्रिया प्रभावकारी बनाउनुपर्ने, कतार आउने श्रमिकलाई रोजगार करार, तलब, बिमा, श्रमिक अधिकार, गुनासो प्रक्रिया तथा आपत्कालीन सम्पर्कबारे प्रस्थान पूर्व नै स्पष्ट जानकारी दिनुपर्ने र सुरक्षित तथा मर्यादित वैदेशिक रोजगारीका लागि प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्ने मागसमेत गरिएको छ । वैदेशिक रोजगारीबाट फर्किएका तथा पुनः वैदेशिक रोजगारीमा जान चाहने श्रमिकका कानुनी तथा प्रक्रियागत समस्या समाधानका विषय पनि ज्ञापनपत्रमा समावेश छन् ।
यसअघि नेपाली संघसंस्थाका प्रतिनिधिको सहभागितामा नेपाली समुदायका समग्र विषयमा विस्तृत अन्तरक्रिया कार्यक्रम आयोजना गर्न नेपाली राजदूतावाससँग अनुरोध गरिएको थियो । अर्थमन्त्रीको व्यस्त कार्यतालिका र सीमित समयका कारण उक्त कार्यक्रम सम्भव नभएपछि राजदूतावासको निमन्त्रणामा आयोजित सीमित सहभागिताको कार्यक्रममा सहभागी भई समुदायका सरोकार राख्ने अवसर प्राप्त भएको अध्यक्ष पन्थीले बताए ।
भेटघाटमा अर्थमन्त्री वाग्लेले नेपालको वर्तमान आर्थिक अवस्था, चुनौती तथा आगामी आर्थिक दिशाबारे संक्षिप्त धारणा राखेका थिए । कार्यक्रममा कतारमा क्रियाशील विभिन्न नेपाली संघसंस्था तथा वैचारिक संस्थाका प्रतिनिधिले नेपालमा पछिल्लो समय विकसित घटनाक्रम र समसामयिक विषयमा आ–आफ्ना धारणा राखेका थिए ।
अध्यक्ष पन्थीले आफूले प्रस्तुत गरेका विषय कुनै व्यक्ति वा संस्थासँग मात्र सम्बन्धित नभई कतारमा कार्यरत हजारौं नेपाली श्रमिक तथा समग्र नेपाली समुदायसँग प्रत्यक्ष जोडिएका साझा सरोकार भएको बताए ।
एआइआइबीको ११औं वार्षिक बैठक सेप्टेम्बर २८ र २९ मा कतारको दोहामा आयोजना भएको हो । बैठकमा सदस्य राष्ट्रका सरकारका प्रतिनिधि, नीति निर्माता, निजी क्षेत्र तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।