२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

मृत्युदण्डको सजाय पाएका हरि बहादुर घले २४ वर्षपछि नेपाल फर्किए

Nada
तिलोचन गौतम
२०८३ असोज ९ गते ०८:३८
Shares
मृत्युदण्डको सजाय पाएका हरि बहादुर घले २४ वर्षपछि नेपाल फर्किए

क्वालालम्पुर : मलेसियामा लागुऔषधसम्बन्धी मुद्दामा पक्राउ परी लामो समय जेल जीवन बिताएका नुवाकोट बर्सुन्चेत–१ का हरि बहादुर घले २४ वर्षपछि स्वदेश फर्किएका छन् ।

ncell

सन् २००३ मे ३० मा मलेसियाको क्वालालम्पुरस्थित एक होटलबाट पक्राउ परेका घलेमाथि लागुऔषध कारोबारसम्बन्धी अभियोग लागेको थियो । प्रहरीले उनको साथबाट ८७५ ग्राम हेरोइन बरामद भएको दाबी गरेको थियो । घलेले भने उक्त लागुऔषध आफ्नो नभएको र अर्का नेपाली नागरिक गणेश तामाङको भएको दाबी गर्दै आएका थिए । 

मलेसियाको उच्च अदालतले सन् २००९ मा घलेलाई मृत्युदण्डको फैसला सुनाएको थियो । त्यसविरुद्ध गरिएको अपिलमा मलेसियाको सर्वोच्च अदालतले पनि सन् २०१२ मा उच्च अदालतको फैसला सदर गरेको थियो । त्यसपछि घले लामो समय मृत्युदण्डको जोखिममा जेल जीवन बिताउन बाध्य भएका थिए । 

घलेको जीवनरक्षाका लागि नेपालमा परिवार तथा विभिन्न सरोकारवालाले लामो समयदेखि पहल गर्दै आएका थिए । नेपाल सरकारका तर्फबाट पनि मलेसिया सरकारसँग कूटनीतिक पहल भएको थियो । तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईले समेत घलेको जीवनरक्षाका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए । 

घलेको परिवारले उनको रिहाइ तथा जीवनरक्षाका लागि सार्वजनिक रूपमा अपिलसमेत गरेको थियो । एम्नेस्टी इन्टरनेसनल नेपालले समेत घलेको परिवारसँग सहकार्य गर्दै मृत्युदण्डविरुद्ध अभियान चलाएको अभिलेखमा उल्लेख छ ।

पछि उनको मृत्युदण्डको सजाय परिवर्तन भई जेल सजायमा परिणत भएको र लामो कानुनी प्रक्रियापछि उनी डिटेन्सन सेन्टरमा रहेका थिए ।

२४ वर्षपछि स्वदेश फर्कने क्रममा भने घलेलाई हवाई टिकटको समस्या परेको थियो। उनको अवस्थाबारे जानकारी पाएपछि मलेसियामा व्यवसाय गर्दै आएका तथा आरटिएफसी फुटबल क्लबका अध्यक्ष राजु तामाङले सहयोगको पहल गरेका थिए । तामाङले सेप्टेम्बर २४ तारिखको बाटिका इयरको हवाई टिकट उपलब्ध गराएपछि घले नेपाल फर्कन सफल भएका हुन् ।

लामो समय मलेसियामा जेल तथा हिरासतमा बिताएपछि परिवारसँग पुनर्मिलन हुने गरी स्वदेश फर्किएका घलेको जीवनको यो घटना मलेसियामा रहेका नेपाली श्रमिकका लागि लामो कानुनी संघर्ष र कूटनीतिक पहलको एउटा उदाहरण बनेको छ ।

घलेलाई स्वदेश फर्काउन सहयोग गरेका व्यवसायी तथा आरटिएफसी फुटबल क्लबका अध्यक्ष राजु तामाङप्रति परिवार तथा आफन्तले आभार व्यक्त गरेका छन् ।

ताजा खबर

सम्बन्धित खबर