
क्वालालम्पुर : नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाको पाँचौं अधिवेशन तथा २१औं वार्षिकोत्सवको तयारी पूरा भएको छ । कार्यक्रम आगामी ४ अक्टोबर २०२६ मा होटल ग्राण्ड कन्टिनेन्टलमा दिउँसो १२ बजे आयोजना हुँदैछ ।
अधिवेशन तथा वार्षिकोत्सवलाई व्यवस्थित, मर्यादित र भव्य रूपमा सम्पन्न गर्न आवश्यक तयारी पूरा गरिएको शाखाले जनाएको छ । कार्यक्रममा नेपाली राजदूतावास, मलेसियाका राजदूतलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको छ भने गायक तथा संगीतकार प्रकाश तितुङ तामाङ अतिथि कलाकारका रूपमा सहभागी हुनेछन् ।
अधिवेशनलाई निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न नेपाल तामाङ घेदुङ संघीय परिषद् सदस्य पासाङ लामाको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको छ । समितिका सदस्यमा राजु योन्जन तामाङ र बिक्रम वाईबा तामाङ रहेका छन् ।
मलेसियामा ठूलो संख्यामा रहेको तामाङ समुदायका लागि यो अधिवेशनलाई महत्वपूर्ण रूपमा हेरिएको छ । पाँचौं अधिवेशनबाट निर्वाचित हुने नयाँ नेतृत्वले आगामी कार्यकालमा समुदायको एकता, संगठन सुदृढीकरण, सामाजिक गतिविधि तथा तामाङ समुदायको हितका विषयलाई कसरी अघि बढाउँछ भन्नेमा समेत चासो बढेको छ ।
अध्यक्ष विक्रम वाईबा तामाङका अनुसार अधिवेशनलाई पारदर्शी, मर्यादित र व्यवस्थित रूपमा सम्पन्न गर्दै संस्थालाई थप सुदृढ बनाउने गरी तयारी गरिएको हो । निर्वाचन समिति संयोजक पासाङ लामाले पनि निर्वाचन प्रक्रिया निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक तयारी पूरा गरिएको जानकारी दिएका छन् ।
नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसियाको पाँचौं अधिवेशनले नयाँ नेतृत्व चयनसँगै मलेसियास्थित तामाङ समुदायको आगामी दिशासमेत तय गर्ने भएकाले यसलाई विशेष चासोका साथ हेरिएको छ ।
कार्यक्रम यही ४ अक्टोबर मा मलेसियाको क्वालालम्पुर स्थित होटल ग्राण्ड कन्टिनेन्टलमा हुने र अतिथि कलाकार प्रकाश तितुङ तामाङ को प्रस्तुति समेत रहेको जानकारी दिँदै वरिष्ठ उपाध्यक्ष छेवाङ लामा ले सबैलाई उपस्थित भएर कार्यालय सफल पारिदिन अनुरोध समेत गरे ।