
न्युयोर्क : इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुविरुद्ध बिहीबार न्युयोर्कमा भएको प्रदर्शनका क्रममा हलिउड अभिनेत्री सुसान सारन्डन र ‘ह्याक्स’की अभिनेत्री ह्याना आइनबिन्डर पक्राउ परेका छन् ।
नेतान्याहुले संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने तयारी गरिरहेका बेला भएको प्रदर्शनका क्रममा सारन्डनलाई न्युयोर्क प्रहरी (एनवाईपीडी)का अधिकारीहरूले हतकडी लगाएर नियन्त्रणमा लिएको हो ।
‘ज्युइस भ्वाइस फर पिस’ले आयोजना गरेको प्रदर्शनबाट आइनबिन्डरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको ‘न्युयोर्क पोस्ट’ले जनाएको छ । पक्राउबारे प्रतिक्रिया माग्दा न्युयोर्क प्रहरीले तत्काल जवाफ नदिएको जनाइएको छ ।
नेतान्याहुले संयुक्त राष्ट्रसङ्घमा सम्बोधन गरिरहँदा प्रदर्शनकारीहरूले ‘इजरायललाई हतियार दिन बन्द गर’ र ‘नरसंहार अन्त्य गर’ लेखिएका ब्यानरसहित प्रदर्शन गरेका थिए ।
महासभामा नेतान्याहुले सम्बोधन सुरु गरेलगत्तै दर्जनौँ देशका प्रतिनिधि सभाकक्षबाट बाहिरिएका थिए । सम्बोधनका क्रममा उनले हालै इजरायलको आलोचना गरेका मित्र तथा शत्रु राष्ट्रहरूको आलोचना गरे। प्यालेस्टाइनलाई राज्यको मान्यता दिने निर्णय गरेका बेलायत र फ्रान्सप्रति पनि उनले असन्तुष्टि व्यक्त गरे ।
‘द रकी हरर पिक्चर शो’, ‘डेड म्यान वाकिङ’ र ‘द विचेज अफ ईस्टविक’ लगायत चलचित्रमा अभिनय गरेकी सारन्डन गाजामा इजरायलले सञ्चालन गरेको युद्धविरुद्धका प्रदर्शनमा सहभागी हुँदै आएका छन् ।
उहाँले यसै महिना भेनिस फिल्म फेस्टिभलमा पत्रकारहरूसँग कुरा गर्दै आफ्ना राजनीतिक अभिव्यक्तिका कारण आफूले चलचित्रमा काम गुमाइरहेको बताए थिए । सारन्डनले आफ्ना विचारका कारण केही एजेन्सीले आफूलाई काम नदिन आग्रह गरेको दाबी गर्दै चलचित्र क्षेत्रमा अझै पनि ‘जायोनिस्टहरूको बलियो प्रभाव’ रहेको बताएका थिए । साथै, उनले आफ्नो परिवार र समर्थकहरूबाट आफूले सहयोग पाइरहेको बताएका थिए ।