२०८३ असोज ९ गते शुक्रवार / Sep 25 , 2026 , Friday
२०८३ असोज ९ गते शुक्रवार

कृष्णभिरमा वैकल्पिक सडकमाथि थपियो जोखिम, त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा

Nada
२०८३ असोज ९ गते ११:३७
Shares
कृष्णभिरमा वैकल्पिक सडकमाथि थपियो जोखिम, त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा

काठमाडौँ : पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभिरमा निर्माण गरिएको वैकल्पिक सडक मार्ग पुनः जोखिममा परेको छ । 

ncell

गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण सडक कटान भई राजमार्ग अवरुद्ध भएपछि सञ्चालनमा ल्याइएको उक्त नयाँ ट्रयाकको तल्लो भागबाट नदीले निरन्तर कटान गरिरहेकाले सडक भासिने त्रास बढेको हो ।

 गत भदौको बाढीका कारण पृथ्वी राजमार्गको मुख्य खण्डमा क्षति पुगेपछि यातायात सहज बनाउने उद्देश्यले तत्कालका लागि वैकल्पिक ट्रयाक निर्माण गरिएको थियो । निरन्तरको वर्षापछि नदीको बहाव र कटान अझै नरोकिएका कारण उक्त नयाँ निर्माण गरिएको सडक पनि सुरक्षित नरहेको विज्ञहरूले औंल्याएका छन् । 

निर्माण भइसकेको ट्रयाकको तल्लो तटीय क्षेत्रबाट त्रिशूली नदीले जमिन कटान जारी राखेकाले सडकको जग कमजोर बन्दै गएको छ । हाल पृथ्वी राजमार्गका विभिन्न सात स्थानमा पहिरोका कारण सडक खण्ड अवरुद्ध हुँदै आएको छ । 

कृष्णभिरको भौगोलिक अवस्था आफैँमा निकै कमजोर र संवेदनशील मानिन्छ । त्यसमाथि नदीको कटानले निरन्तरता पाएकाले तत्काल दिगो समाधान नखोजिए पुनः सडक सम्पर्क विच्छेद हुने जोखिम उच्च छ । सडक डिभिजन कार्यालयले प्राविधिक टोलीमार्फत अवस्थाको अनुगमन गरिरहेको भए पनि नदी नियन्त्रणको कार्य चुनौतीपूर्ण बनेको छ । 

राजमार्गको यो खण्ड मुलुकको राजधानी काठमाडौँलाई जोड्ने मुख्य लाइफलाइन भएकाले यसको संरक्षणमा गम्भिरता अपनाउनुपर्ने आवश्यकता देखिएको छ । वैकल्पिक मार्ग सुरक्षित नहुँदा हजारौं यात्रु र ढुवानी सेवा प्रत्यक्ष प्रभावित भइरहेका छन् । हाल भइरहेको कटानले नयाँ ट्रयाक नै बगाउने सम्भावना बढेपछि अबको रणनीति के हुने भन्ने प्रश्न स्थानीय र सरोकारवालाहरूले उठाएका छन् ।

ताजा खबर

सम्बन्धित खबर