२०८३ असोज ४ गते आइतवार / Sep 20 , 2026 , Sunday
२०८३ असोज ४ गते आइतवार

सरकारले वातावरण बनाए समयमै काम गर्न सकिन्छ : निर्माण व्यवसायी

Nada
२०८३ असोज ४ गते १४:००
Shares
सरकारले वातावरण बनाए समयमै काम गर्न सकिन्छ : निर्माण व्यवसायी

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा बाढीपछि अवरुद्ध सडकलाई वैकल्पिक मार्ग निर्माण गरेर छोटो समयमै सञ्चालनमा ल्याइएको घटनाले पूर्वाधार निर्माणमा सरकारी निकाय र निर्माण व्यवसायीबीचको समन्वय तथा काम गर्ने वातावरणको महत्व देखाएको छ ।

ncell

भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीपछि कृष्णभीरमा ठूलो पहिरो खसेर राजमार्ग अवरुद्ध भएको थियो । करिब १८ दिनपछि असोज १ गतेदेखि वैकल्पिक मार्ग निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको हो ।

नागढुंगा-मुग्लिङ सडक योजना पश्चिम खण्डकी प्रमुख सजना अधिकारीका अनुसार पहिरो खसेलगत्तै वैकल्पिक मार्ग पहिचानको काम अघि बढाइएको थियो । सुरुमा चुनौतीपूर्ण देखिए पनि पहिरोको माथिल्लो भागमा तुलनात्मक रूपमा समथर भूभाग भेटिएपछि त्यहीँबाट सडक निकाल्ने योजना बनाएर काम थालिएको थियो ।

जोखिमयुक्त क्षेत्रमा सडक निर्माण गर्नुपरेपछि सुरक्षालाई प्राथमिकतामा राखेर काम गरिएको अधिकारीले बताइन् । एक्साभेटर सञ्चालन गर्नसमेत अपरेटरहरू सुरुमा डराएको अवस्थामा प्रत्येक मेसिनमा अपरेटरसँगै हेल्पर खटाइएको थियो भने जोखिमको निरन्तर निगरानी गरिएको थियो ।

दुवैतर्फबाट मेसिन परिचालन गरी ट्र्याक खोलिएको र हाल कृष्णभीरबाट ठूला मालवाहकसहित अन्य सवारीसाधन सहज रूपमा सञ्चालन भइरहेको अधिकारीले जानकारी दिइन् । रातिको समयमा यातायात सञ्चालनलाई सहज बनाउन बत्तीको समेत व्यवस्था गरिएको छ ।

तर तत्काल यातायात सञ्चालनमा आए पनि कृष्णभीरको भू-स्थायित्वबारे थप अध्ययन आवश्यक रहेको अधिकारीको भनाइ छ । सक्रिय पहिरोको ‘टो’ काटेर सडक सञ्चालनमा ल्याइएकाले माथिल्लो भागको पहिरो दीर्घकालीन रूपमा स्थिर भएको हो वा होइन भन्ने विषयमा प्राविधिक अध्ययन गर्नुपर्ने उनले बताइन् ।

‘ज्यानको जोखिम मोलेर बाटो खोल्यौँ’
नेपाल निर्माण व्यवसायी महासंघका उपाध्यक्ष शहदेव खड्काले कृष्णभीरमा अत्यधिक जोखिमका बीच सडक निर्माण गरिएको बताए ।

पुरानो सडक पहिरोले बगाइसकेको र बाँकी भूभागसमेत चिराचिरा परेको अवस्थामा काम अघि बढाइएको भन्दै उनले सडक सञ्चालन गर्नु बाध्यताजस्तै बनेको बताए । उनका अनुसार सडक विभागका अधिकारी, आयोजना प्रमुख, परामर्शदाता, जियोटेक विज्ञ, इन्जिनियर तथा निर्माण कम्पनीका प्राविधिक र मजदुर फिल्डमै बसेर काममा खटिएका थिए ।

काठमाडौँमा ग्यास बुलेट, पेट्रोलियम पदार्थ तथा ठूला मालवाहक सवारीसाधनको आवागमन सहज बनाउन जोखिमका बाबजुद वैकल्पिक सडक निर्माण गरिएको खड्काले बताए । उनका अनुसार काम सुरु भएको ११ दिनमै यातायात सञ्चालनमा ल्याइएको थियो ।

खड्काले कृष्णभीरको अनुभवले आवश्यक वातावरण र समन्वय उपलब्ध भए पूर्वाधार निर्माणका काम निर्धारित समयमै सम्पन्न गर्न सकिने देखाएको बताए ।

निर्माण व्यवसायीलाई मात्रै दोष दिन नहुने
खड्काले नेपालमा पूर्वाधार निर्माणमा हुने ढिलाइका लागि निर्माण व्यवसायीलाई मात्र दोष दिन नहुने धारणा राखे । आयोजना सुरु हुनुअघि नै सरकारले मुआब्जा, विद्युत् पोल व्यवस्थापन, वन क्षेत्र तथा रुख कटान, नदीजन्य निर्माण सामग्री, क्रसर र अस्फाल्ट प्लान्टलगायतका पूर्वतयारीका काम सम्पन्न गर्नुपर्ने उनको भनाइ छ ।

निर्माण व्यवसायीलाई आवश्यक सामग्री सहज रूपमा उपलब्ध गराउने, काम गर्ने वातावरण र सुरक्षाको प्रत्याभूति गर्ने तथा समयमै भुक्तानी हुने व्यवस्था भए पूर्वाधार निर्माणले गति लिने उनले बताए ।

उनले पूर्वाधार विकासलाई राज्यले प्राथमिकताका साथ लिनुपर्ने र निर्माण व्यवसायीसँग समन्वय बढाउनुपर्नेमा जोड दिए ।

खड्काका अनुसार निर्माण व्यवसायीले समयमै काम सम्पन्न गर्न सके त्यसको प्रत्यक्ष लाभ सरकार र नागरिक दुवैलाई पुग्छ । त्यसैले आयोजना कार्यान्वयनको प्रारम्भिक चरणदेखि नै आवश्यक पूर्वतयारी पूरा गरी निर्माण व्यवसायीलाई काम गर्ने अनुकूल वातावरण बनाउनुपर्ने उनको भनाइ छ ।

कृष्णभीरमा तत्कालीन आवश्यकता पूरा गर्न वैकल्पिक सडक सञ्चालनमा आए पनि दीर्घकालीन समाधानका लागि पहिरोको भू-स्थायित्व, सडकको सुरक्षा र संरचनागत जोखिमबारे थप अध्ययन आवश्यक देखिएको छ ।

सम्बन्धित खबर