२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

तिज कार्यक्रमबाट संकलित साढे तीन लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा

Nada
तिलु शर्मा पौडेल
२०८३ भदौ २९ गते १९:४९
Shares
तिज कार्यक्रमबाट संकलित साढे तीन लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा

दोहा, कतार : भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई कतारमा आयोजित ‘माइती–चेली तिज सांगीतिक कार्यक्रम–२०२६’ मार्फत संकलित ३ लाख ५० हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।

आयुषा मेकअप, अल दाना सैलुन कतार तथा आयुषा सैलुन एन्ड एकेडेमी प्रा.लि. काठमाडौंको संयुक्त आयोजनामा गत सेप्टेम्बर ११ मा दोहास्थित रेडिसन ब्लु होटेलमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

'शोकलाई शक्तिमा बदलौं' भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त चौथो सांगीतिक दर कार्यक्रममा प्रवेश निःशुल्क गरिएको थियो । कार्यक्रमका सहभागी तथा विभिन्न दाताहरूबाट प्राप्त सहयोग रकमलाई संकलन गरी विपद्पीडितको राहतका लागि कोषमा पठाइएको आयोजकले जनाएको छ ।

यसअघि आयोजक खड्का दम्पती (आयुषा श्रेष्ठ खड्का र मोहन खड्का) ले व्यक्तिगत रूपमा समेत १ लाख ५० हजार रुपैयाँ कोषमा योगदान गरिसकेका छन् । यस कार्यक्रमको साढे तीन लाखसहित उनीहरूको पहलमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल सहयोग रकम ५ लाख रुपैयाँ पुगेको छ । कतारमा व्यवसाय सञ्चालन गर्दै आएका खड्का दम्पतीले व्यावसायिक सफलतासँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्दै विपद्को समयमा पीडितहरूलाई आशा र राहत पुर्‍याउने उद्देश्यले यो अभियान चलाइएको बताए ।

मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वलाई जोडिएको उक्त कार्यक्रममा नेपालका चर्चित लोक तथा दोहोरी गायक खेम सेन्चुरी सहितका कलाकारले आ-आफ्ना सांगीतिक प्रस्तुति दिएका थिए ।

गायक सेन्चुरीले सांगीतिक प्रस्तुति अघि भोटेकोशीलगायत बाढीपीडित क्षेत्रमा उद्धार तथा राहतमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र सहयोगीहरूप्रति सम्मान व्यक्त गरे । देश विपद्‍मा परेको समयमा कला र संगीतमार्फत पीडितलाई सहयोग गर्नुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्नु कलाकारको पनि कर्तव्य भएको उनले बताएका थिए ।

सम्बन्धित खबर