२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

एनआरएनए एनसिसी कतारद्वारा बाढीपीडितका लागि ५८ लाख १४ हजार रुपैयाँ संकलन

Nada
तिलु शर्मा पौडेल
२०८३ भदौ २८ गते २१:४६
Shares
एनआरएनए एनसिसी कतारद्वारा बाढीपीडितका लागि ५८ लाख १४ हजार रुपैयाँ संकलन

दोहा, कतार : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसिसी) कतारले भोटेकोशीमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि सञ्चालन गरेको अभियानमार्फत ५८ लाख १४ हजार ४३२ रुपैयाँ संकलन गरेको छ ।

विपद्पछिको राहत तथा उद्धार कार्यमा सहयोग जुटाउन एनसिसी कतारले अध्यक्ष कृष्ण पन्थीको संयोजकत्वमा राहत संकलन समिति गठन गरेको थियो । समितिमा कतारमा स्थापित विभिन्न प्रदेशका अध्यक्ष तथा विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिलाई सदस्यका रूपमा समेटिएको थियो ।

अभियानमा कतारमा रहेका विभिन्न समन्वय परिषद्, जिल्ला संस्था, सामुदायिक तथा सांस्कृतिक संस्था, विभिन्न संघसंस्था र व्यक्तिहरूले स्वैच्छिक रूपमा आर्थिक सहयोग गरेका थिए । यसरी संकलित ५८ लाख १४ हजार ४३२ रुपैयाँ शनिवार आयोजित रकम हस्तान्तरण कार्यक्रममा एनआरएनए आइसिसीका पूर्वअध्यक्ष आरके शर्मा तथा वर्तमान कार्यसमितिका उपमहासचिव मोहम्मद मुक्तदा मुसलमान, सचिव पदम गिरीलगायतका पदाधिकारीलाई हस्तान्तरण गरिएको हो ।

एनसिसी कतारका अनुसार हस्तान्तरण गरिएको उक्त रकम आइसिसीमार्फत नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ । कतारमा संकलित रकमलाई आइसिसीमार्फत सम्बन्धित सरकारी राहत कोषमा पुर्‍याउने गरी अभियान सञ्चालन गरिएको एनसिसी कतारले जनाएको छ ।

कार्यक्रममा बोल्ने वक्ताहरूले विपद्को समयमा कतारमा रहेका नेपालीहरू सहयोगका लागि सदैव अग्रपङ्क्तिमा रहने गरेको उल्लेख गर्दै  एनसिसी कतारले समयमै गरेको राहत संकलनको पहलको प्रशंसा गरेका थिए । उनीहरूले प्राकृतिक विपद्को कठिन समयमा नेपाली समुदायबिचको एकता, सहकार्य र मानवीय सहयोग महत्त्वपूर्ण हुने बताएका थिए ।

यसैबिच एनसिसी कतारले कतारबाट नेपालमा विपद् प्रभावितका लागि भएको समग्र सहयोगको अभिलेख तयार गर्ने भएको छ । त्यसका लागि थप एक साताको समय राखेर कतारमा रहेका नेपाली तथा विभिन्न संघसंस्थाले विभिन्न माध्यमबाट संकलन गरी प्रधानमन्त्री राहत कोषलगायत सम्बन्धित माध्यममा पठाएको सहयोगको विवरण संकलन गरिने जनाइएको छ ।

कतारबाट बाढी तथा अन्य विपद् प्रभावितका लागि हालसम्म कति रकम सहयोग भएको छ भन्ने समग्र तथ्यांक तयार गरी व्यवस्थित अभिलेख राख्ने उद्देश्यले विवरण संकलन गर्न लागिएको एनसिसी कतारले जनाएको छ । यसबाट व्यक्तिगत तथा संस्थागत रूपमा कतारबाट नेपालमा गरिएको राहत सहयोगको एकीकृत विवरण तयार हुने अपेक्षा गरिएको छ ।

कार्यक्रममा कतारमा स्थापित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष, प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर