२०८३ कार्तिक १३ गते शुक्रवार / Oct 30 , 2026 , Friday
२०८३ कार्तिक १३ गते शुक्रवार

चेस ओलम्पियाड टोलीको बिदाइ

Nada
२०८३ भदौ २८ गते १८:५२
Shares
चेस ओलम्पियाड टोलीको बिदाइ

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले ४६औं चेस ओलम्पियाडमा सहभागी हुने टोलीलाई शुभकामनासहित बिदाइ गरेका छन् । 

उज्वेकिस्तान प्रस्थान गर्ने नेपालका खुला तथा महिला दुबै राष्ट्रिय टोलीलाई काठमाडौंको दरबारमार्गस्थित होटल उडल्यान्डमा मुख्यमन्त्री थापामगरले खेल पोशाक लगायत सामग्री समेत हस्तान्तरण गरेका छन् ।

मुख्यमन्त्री थापामगरले नेपाली टोलीले ओलम्पियाडमा पदक प्राप्त गरेको खण्डमा बागमती प्रदेश सरकारले विशेष व्यवस्था गर्ने बताए । 

खुला तर्फ २ सय ८ राष्ट्र तथा महिलातर्फ १ सय ९१ राष्ट्र सहभागी रहने ओलम्पियाडमा नेपाल समूह 'डि'मा रहेको छ । नेपाल बुद्धिचाल महासंघले गत ४५ दिन देखी नेपालका दुबै टोलीलाई विशेष बन्द प्रशिक्षण दिंदै उच्च मनोबलका साथ तयारी सम्पन्न गरेका छन् ।  

कजाकिस्तानका अर्न्तराष्ट्रिय मास्टर किरिल कुदेरिनोभलको प्रशिक्षणमा नेपाली पुरुष टोलीमा एफएम रूपेश जयसवाल, सिएम सुश्रुत दाहाल तथा पुरुषोतम सिलवाल, आशिष फुँयाल र राजन सुवेदी रहेका छन् ।

यस्तै एफएम रिजेन्द्र राजभण्डारीको प्रशिक्षणमा रहेको महिला टोलिमा कृतिसरा अधिकारी, पूजा भण्डारी, एन्जेल महर्जन, निहाना श्रेष्ठ र सिन्दिरा जोशी रहेका छन् । 

नेपाल बुद्धिचाल महासंघका कार्यवाहक कोषाध्यक्ष आइए निरञ्जन प्रजापति निर्णायक, प्रवक्ता राजु ताम्राकार तथा सल्लाहकार रघुनाथ महर्जन पनि टोलीसँगै प्रस्थान गर्ने छन् ।

फिडेको विशेष निमन्त्रणामा नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन ‍र महासचिव धरमबहादुर लामा बिहीबार फरक क्षमताको ओलम्पियाड उद्घाटन समारोहमा सहभागी हुन उज्वेकिस्तान पुगिसकेका छन् ।

उपाध्यक्ष श्याम ब्यञ्जनकारको अध्यक्षतामा सम्पन्न बिदाइ कार्यक्रममा बागमती प्रदेश सभा सदस्य रामकृष्ण चित्रकार, रघुनाथ महर्जन, ललितपुर महानगरपालिका वाडा नं १६ का अध्यक्ष निर्मलरत्न शाक्य, रामगोपाल घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर