२०८२ असार ५ गते बिहिवार / Jun 19 , 2025 , Thursday
२०८२ असार ५ गते बिहिवार
Ads

गाँजा खेती सम्भाव्यताबारे नियमावली बनाएर अध्ययन गरिने

shivam cement
मध्यान्ह
२०८१ जेठ २५ गते १६:१४
गाँजा खेती सम्भाव्यताबारे नियमावली बनाएर अध्ययन गरिने

काठमाडौं : उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले गाँजा खेतीको सम्भाव्यताबारेमा अध्ययन तथा अनुसन्धान गर्न यथाशीघ्र नियमावली बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आगामी आव २०८१/८२ को बजेटमा समावेश गरिएको गाँजा खेतीबारे छलफल गर्न प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा गृहमन्त्री लामिछानेले यस विषयमा पर्याप्त छलफल भइसकेकाले अब कुनै दुविधा नरहेको बताए । 

उनले भने, “गाँजा खेतीको औषधिजन्य र व्यावसायिक प्रायोजनका लागि अध्ययन तथा अनुसन्धान गर्न यथाशीघ्र नियमावली बनाउँदैछौं । यी दुई विषय मात्र नभई गाँजासम्बन्धी बहुआयामिक तरिकाले अध्ययन गर्न सकियोस् भने एक महिनामा सम्भवत अध्ययन समित बनाउनेछौं ।”

गृहमन्त्री लामिछानेले गाँजासम्बन्धी कानून बनाउँदा सामाजिक परिवेशलगायत नियमनको पाटोमा पनि जोड दिने बताए । उनले लागुऔषध दुर्व्यसनीमा फसेका र लागुऔषध ओसारपसारमा लागेकालाई फरक तरिकाले हेरिने भन्दै यसबारेमा पनि अध्ययन भइरहेको जानकारी दिए ।

“कोही कानूनी अनभिज्ञताका कारणले पनि जेल बसेका छन् । जनचेतनाको अभावले पनि दुर्व्यसनी तथा ओसारपसारमा लागेका छन् । यसबारेमा पनि गहिरिएर अध्ययन गर्दैछाैं”, गृहमन्त्री लामिछानेले भने ।

समितिका सभापति डा आरजु राणा देउवाले गृहमन्त्री लामिछानेको प्रतिबद्धतालाई स्वागत गर्दै आगामी भदौसम्म नियमावलीका लागि समयावधि उपलब्ध गराएकी छन् । उनले भनिन्, “उक्त अवधिमा गृह मन्त्रालयले काम अघि नबढाए समितिअन्तर्गत उपसमिति गठन गरिनेछ । छलफलमा उठेका विषयलाई गृह र अर्थ मन्त्रालयलाई जानकारी दिने छौं ।”

ADV

सम्बन्धित खबर

Advertise