
राजकुमार पराजुली
काभ्रेपलाञ्चोक : पटकपटकको बाढीपहिरोले क्षतिग्रस्त बिपी राजमार्ग स्थायी रुपमा निर्माण सुरु गरिएको छ । नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई संघीय राजधानी काठमाडौंसँग जोड्ने छोटो दूरीका रुपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट स्थायी पुनर्निर्माण थालिएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
गत साल असोज दोस्रो साता तथा यस वर्षको गत असोज तेस्रो साताको बाढीपहिराले उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली खण्डको करिब ३० किलोमिटर सडकमा क्षति पुर्याएको थियो । बाढीपहिरोले सडकका विभिन्न खण्ड बगाएपछि गतसालदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको क्षतिग्रस्त राजमार्ग स्थायी रुपमा निर्माण सुरु गरिएको कार्यालयले जनाएको हो ।
क्षतिग्रस्त सडकखण्डमध्ये तीन खण्डको स्थायी पुनर्निर्माणका लागि ठेक्का सम्झौता भई काम अघि बढाइएको कार्यालयका प्रमुख डिभिजनल इञ्जिनियर सुमन योगेशले जानकारी दिए । उनका अनुसार काभ्रेपलाञ्चोकतर्फको क्षतिग्रस्त तीन खण्डको चौकीडाँडा, मंगलटार, नार्के गिम्दीलगायत क्षेत्रबाट स्थायी निर्माण कार्य सुरु गरिएको हो ।
ठेक्का लागेका तीन मुख्य खण्डको निर्माण कार्य आगामी दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ । अबको पुनर्निर्माणमा राजमार्गको स्तरोन्नति गर्दै दुई लेनको सडक निर्माण गरिने योगेशको भनाइ छ । “पुनर्निर्माण हुने सडकखण्डमा दुई लेनको सडक बन्नेछ, यसभित्र रहेका पुलसँगै अर्को पुल निर्माण गरेर पुललाई समेत दुई लेनको निर्माण गरिनेछ”, योगेशले भने ।
उनका अनुसार पाँच पुललाई दुई लेनमा परिणत गर्न अध्ययन भइरहेको छ । डालाबेंसीदेखि चारसयबेँसीसम्म आठ दशमलव पाँच किमी सडक पुनर्निर्माणका लागि खानी–एवन–कमलजीत जेभीले रु एक अर्ब ४२ करोड ३७ लाख (भ्याटसहित)मा निर्माण गर्नेगरी ठेक्का पाएको कार्यालयले जनाएको छ ।
यस्तै, चारसयबेँसीदेखि भकुन्डेबेँसीसम्मको ११ दशमलव शून्य आठ किमी सडक पुनर्निर्माणका लागि लामा–नवकान्तिपुर जेभीलाई रु एक अर्ब ३३ करोड ५३ लाखमा ठेक्का दिइएको हो । नेपालथोकदेखि बर्खेखोलासम्म चार दशमलव ९० किमी सडक पुनर्निर्माणका लागि रु ६१ करोड (भ्याटसहित)मा निर्माण गर्ने गरी खरिढुङ्गा–घिसिङ–क्षितिज जेभीसँग ठेक्का सम्झौता गरिएको जनाइएको छ ।
क्षतिग्रस्त कूल २९ दशमलव पाँच किमी सडकमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको तीन दशमलव दुई किमी सडक भने जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले निर्माण गरिदिने भएको छ । यस लम्बाइको क्षतिग्रस्त सडकको ठेक्का प्रक्रियाको काम भइरहेको योगेशले जानकारी दिए । उनका अनुसार यस खण्डको पुनर्निर्माणका लागि जापानले रु दुई अर्ब ६३ करोड बराबरको अनुदान उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ । कार्यालयले जाइकाले निर्माण गर्ने सडकखण्डबाहेकका अन्य खण्डमा सरकारले गत असोजअघि नै ठेक्का लगाइसकेको जनाएको छ ।
कार्यालयले क्षतिग्रस्त सडकखण्डको स्थायी पुनर्निर्माणका लागि दुई वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको योगेशले बताए । उनले भने, “निर्धारित समयमै काम सम्पन्न गर्नेगरी मङ्सिरको सुरुआतदेखि नै स्याथी पुनर्निर्माण थालिएको हो ।” क्षतिग्रस्त खण्ड पुनर्निर्माणका लागि सरकारले रु आठ अर्ब ५० करोड स्रोत सहमति दिइसकेको छ । त्यसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डलाई रु सात अर्ब ५० करोड र सिन्धुलीको एक सडकखण्डलाई रु एक अर्बको स्रोत सहमति दिइएको हो ।
जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/०५४ बाट बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिवास १६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको विसं २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।
उक्त राजमार्ग केन्द्रीय राजधानी काठमाडौंलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रुपमा लिइएको छ ।