२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

चाडपर्वमा सर्वसाधारणको सुरक्षाका लागि चार हजार बढी प्रहरी परिचालित

Nada
२०८२ असोज ५ गते ०७:५४
Shares
चाडपर्वमा सर्वसाधारणको सुरक्षाका लागि चार हजार बढी प्रहरी परिचालित

काठमाडौँ : जिल्ला प्रहरी परिसर काठमाडौँले यस वर्षको दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गर्दै परिसर प्रमुखको कमाण्डमा चार हजार ७३८ जना प्रहरी परिचालन गर्ने भएको छ ।

ncell

काठमाडौँ उपत्यकामा दसैँ, दीपावली तथा छठ पर्वलाई सुरक्षित, मर्यादित बनाउन तथा अप्रिय घटना हुन नदिन चार प्रकारका सुरक्षा रणनीति तय गरी प्रहरी परिचालन गर्ने तयारी गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । 

उनले भने, “दसैँ, दीपावली तथा छठ पर्वलाई सुरक्षित, मर्यादित बनाउन सुरक्षाका लागि दसैँमा परिसर प्रमुखको कमाण्डमा चार हजार ७३८ जना जनशक्ति खटिने छन् । ९१ स्थानमा पिकेट ड्युटी परिचालनका लागि तीन सय ६४ जना प्रहरी परिचालन गरिने छ ।”

यसै गरी काठमाडौँमा नागरिक सहायता कक्ष १४ स्थानमा राख्ने योजना रहेको जनाउँदै हाल तीन ठाउँमा बल्खु, कङ्लकी र नयाँ बसपार्कमा सञ्चालन गरी ७२ जना जनशक्ति परिचालित रहेका प्रवक्ता बोहराले बताए । उनका अनुसार १४ एरिया विभाजन गरिएको छ ।

उनका अनुसार पूजापाठ हुने स्थान, टिकट बिक्री हुने स्थान, खसी बोका खरिद बिक्री हुने स्थान, सपिङ सेन्टर तथा महल, गरगहना पसलमा विशेष सुरक्षा प्रदानसहित सादा पोसाकका प्रहरी परिचालन गरिने छ ।

दसैँ, तिहारलगायत चाडपर्वमा चोरी, पकेटमारी, लुटपाट, कुटपिटलगायत घटना बढी हुने भएकाले सादा पोसाकका प्रहरी उल्लेख्य मात्रामा परिचालन गर्ने तयारी गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । यसै गरी क्यूआरटी टोली, मोबाइल टोली, मोटरसाइकल क्यूआरटी टोली खटिने जनाइएको छ ।

परिसरले तयार गरेको सुरक्षा योजनामा व्यक्तिका घरको सुरक्षा गर्ने योजनासम्म समावेश गरिएको छ । दसैँमा लामो समयसम्म घर छाड्ने भए विश्वासिला व्यक्तिलाई जिम्मा लगाएर वा नजिकको प्रहरीलाई खबर गरेर जान पनि प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

ताजा खबर

सम्बन्धित खबर