२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

पर्वतको जलजलामा घरमा प्रसूति हुनेको संख्या शून्य

Nada
२०८२ असोज १ गते १०:२३
Shares
पर्वतको जलजलामा घरमा प्रसूति हुनेको संख्या शून्य

पर्वत : जलजला गाउँपालिकामा घरमा प्रसूति (सुत्केरी) हुनेको सङ्ख्या शून्य भएको छ । घरमै बच्चा जन्माउँदा आमा र बच्चाको ज्यान खतरामा पर्नुका साथै महिलाहरूमा विभिन्न समस्याले सुत्केरीपछि सताइरहने हुँदा घरमै सुत्केरी (होम डेलिभरी) हुनेको सङ्ख्या शून्य बनाइएको हो । जलजलाका स्वास्थ्य शाखा प्रमुख गणेश मल्लले आर्थिक वर्ष २०८१–८२ मा जलजलामा एक सय ६२ जनाले संस्थागत प्रसूति सेवा लिएका बताए ।

ncell

“आर्थिक वर्ष २०८०–८१ मा ‘होम डेलिभरी’को सङ्ख्या एक थियो, आव २०८१–८२ मा शून्यमा झरेको छ । यसलाई निरन्तरता दिन्छौँ”, उनले भने । जलजलाको मल्लाज, लेकफाँट र शालिजामा रहेका प्रसूति गृहमा १६ जना सुत्केरी भएका हुन् ।

एक सय ४६ जनाले बेनी, बागलुङ, कुश्मा, पोखरालगायत ठाउँमा पुगेर प्रसूति सेवा लिएका शाखा प्रमुख मल्लले बताए। गत आवको सुरुदेखि नै सञ्चालन गरेको गर्भवतीलगायतलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन थालेपछि घरमा जोखिम मोलेर असुरक्षित रूपमा प्रसूति हुनेको सङ्ख्या शून्यमा झार्न सहयोग पुगेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए ।

जोखिमयुक्त प्रसूतिका कारण हुने जोखिम न्यूनीकरण गरी बच्चा र आमाको स्वास्थ्यमा सुधार ल्याउन ‘होम डेलीभरी’लाई शून्यमा कायम राख्ने उनले प्रतिबद्धता जनाए । आठपटक गर्भ जाँच र संस्थागत प्रसूति सेवालाई प्रोत्साहन, घरमा सुत्केरी हुनेको सङ्ख्या शून्यमा झार्ने, आमा तथा बच्चाको पोषणमा सुधार ल्याउन सन्देश प्रवाह गराउने उद्देश्यले जलजला गाउँपालिकाले सुत्केरीलाई घ्यू र अण्डा उपहार दिने कार्यक्रम सञ्चालन गरेको उपाध्यक्ष दीपक आचार्यले बताए ।

जलजला गाउँपालिकाअन्तर्गतका स्वास्थ्य संस्थाबाट आव २०८१–८२ मा सञ्चालन भएका कार्यक्रमको सोमबार लामाखेतस्थित गाउँपालिकाको कार्यालयमा समीक्षा भएको थियो । अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम, वडाध्यक्षहरू र स्वास्थ्य कार्यालयका प्रतिनिधिको उपस्थितिमा भएको कार्यक्रममा नौवटै स्वास्थ्य संस्थाका प्रमुखले प्रगति विवरण प्रस्तुत गरेका थिए ।

गत वर्ष गाउँपालिकाले सञ्चालन गरेको ज्येष्ठ नागरिक तथा नसर्ने रोग स्क्रिनिङ कार्यक्रममार्फत एक हजार ५०० जनाले सेवा पाएका छन् । प्रत्येक महिना स्वास्थ्यकर्मीले विद्यालयमा पुगेर स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरेका छन् । मल्लाजमा १० शय्या क्षमताको अस्पताल भवन निर्माण सकिएको र नाग्लीवाङ स्वास्थ्यचौकीको भवन निर्माण सुरु भएको छ । बाह्र वटा स्वास्थ्य संस्थामा विद्युतीय प्रणालीबाट स्वास्थ्य सेवाको अभिलेख राख्न थालिएको छ ।

एक वर्षमा छ सय ३१ जनाले एम्बुलेन्स सेवा पाएका छन् । गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, असहाय गरिब र अपाङ्गता भएकाहरूका लागि स्वास्थ्य संस्था आवतजावत निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । स्वास्थ्य शिविरमार्फत पाँच हजार ज्येष्ठ नागरिकले सेवा पाएका छन् । जलजलामा तीन हजार ३२८ परिवारका १० हजार ३०४ जनाले स्वास्थ्य बीमा गरेका छन् ।+

ताजा खबर

सम्बन्धित खबर