सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिका–५ एमालेमोड नजिक सुर्खेत–नेपालगञ्ज सडक खण्डमा भएको सवारी दुर्घटनामा ६ जना घाइते भएका छन् ।
मंगलबार दिउँसो करिब पौने २ बजे नेपालगञ्जबाट सुर्खेततर्फ आउँदै गरेको भे १ प १६८५ नम्बरको मिनि ट्रक र सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको क.प्र.०२-००१ ख ०९२२ नम्बरको फोर्स गाडी एकआपसमा ठोक्किँदा फोर्स गाडीका चालकसहित ६ जना घाइते भएका हुन् ।
प्रहरी चौकी बबईका प्रहरी सहायक निरीक्षक हरिबहादुर तिरुवाको कमाण्डमा ट्राफिकसहितको पाँच जनाको टोलीले उद्धार गरी घाइतेहरुलाई उपचारका लागि कोहलपुर पठाइएको इलाका प्रहरी कार्यालय बबईले जानकारी दिएको छ ।
घाइतेहरुको विवरण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा संलग्न मिनि ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र सडकमा भने कुनै अवरोध नभएको प्रहरीले जनाएको छ ।