काठमाडौं : वर्तमान परिस्थितिमा व्यवसाय भन्दा सुरक्षा पहिले भन्दै वैदेशिक रोजगार व्यवसायी आफ्नो कार्यालय आसपासमा रहेका प्रहरी चौकी सरसफाइ तथा बसोबासका आवश्यक सामग्री जुटाउन सक्रिय भएका छन् ।
जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते भएको आगजनी र तोडफोडमा राजधानीमा रहेका प्रहरी वृत्त, प्रभाग र चौकीहरूमा व्यापक क्षति पुगेको छ । प्रहरी चौकीहरूमा लत्ताकपडा, चौखट, झ्यालका सिसा, शौचालय, पिउने पानीको प्रणाली ध्वस्त भएकाले प्रहरी ड्युटी गर्ने अवस्थामा समेत प्रतिकूलता झेलिरहेका छन् ।
कतिपयका पोशाक, हतियार, लट्ठी, सञ्चार सेट छैनन् भने तत्कालै घटनास्थलमा पुग्न सवारी साधनको पनि अभाव देखिएको छ । उपत्यकाका तीन जिल्लाका प्रहरी नायव उपरीक्षक (डिएसपी)ले कमान्ड गर्ने १८ वटा वृत्तमध्ये मालीगाउँ वृत्तमात्रै सुरक्षित रहेको छ ।
आन्तरिम सरकार गठनसँगै केही आशा पलाएको भएपनि सरकारले उपलब्ध गराउने बजेटले मर्मत गर्दा महिनौं लाग्ने र दिनानुदिनको शान्ति सुरक्षा कमजोर हुने देखिपछि वैदेशिक रोजगार व्यवसायी आफ्ना क्षेत्रका प्रहरी चौकी सरसफाइ गरी न्यूनतम सुविधा उपलब्ध गराउन जुटेका हुन् ।
कतिपयले म्यानपावर कम्पनीमाथि पनि कारबाही हुनुपर्ने खालका पूर्वाग्रही विचार र टिप्पणी सामाजिक सञ्जालमा पोस्ट गर्न थालेपछि वैदेशिक रोजगार व्यवसायीले सुरक्षाको मुद्दामा बढी संवेदनशील देखिएको बताएका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघले हालको संवेदनशील अवस्थालाई मध्यनजर गर्दै उपत्यकाका क्षेत्रमा कार्यालय सञ्चालन गरिरहेका व्यवसायीहरूको हित र संरक्षणको उद्देश्य राखेर सोही स्थानका व्यवसायीहरू समेटेर ९ सदस्यीय समन्वय टिम गठन गरेको छ ।
संघका महासचिव महेशकुमार बस्नेतका अनुसार बालाजुदेखि माछापोखरी, गोंगबु, सामाखुसी, टोखा हुँदै बसुन्धारा चौकीसम्मका लागि संघका सल्लाहकार हरिबहादुर पाण्डे क्षेत्री, बसुन्धारा चौकीदेखि धापासी हुँदै महाराजगञ्जसम्म तथा बालुवाटार र लाजिम्पाटसमेतका लागि राजकाजी भोलान, महाराजगञ्जदेखि धुम्बाराही, सुकेधारा हुँदै चाबहिलसम्मका लागि कृष्ण ढकाल, चाबहिलदेखि गौरीघाट, रातोपुल, कालोपुल, सिफल, गौशला पिंगलास्थान हुँदै सिनामंगल चोकसम्म शिवकुमार कार्की संयोजक रहेको समन्वय टिम गठन गरिएको छ ।
त्यसैगरी सिनामंगल चोकदेखि गैह्रीगाउँ, तीनकुने, महादेवस्थान हुँदै कोटेश्वर, बालकुमारीसम्म पंकज कोइराला, गौशलादेखि बत्तीसपुतली पुरानो/मध्य/नयाँ बानेश्वर, शान्तिनगर हुँदै शंखमुल, बुद्धनगरसम्म दिनेश बस्नेत, बालकुमारीदेखि सातदोबाटो, जावलाखेल हुँदै पुलचोक, त्रिपुरेश्वरसम्म बासु पुडासैनी, कलंकीदेखि सितापाइला, स्वयम्भु हुँदै बालाजुसम्मका लागि शालिकराम अधिकारीलाई संयोजक तोकिएको छ । सातदोबाटोदेखि सानेपा, बल्खु, ताहचल हुँदै कलंकीसम्मका लागि भने संयोजक तोकिएको छैन ।
संघले उल्लेखित क्षेत्रहरुमा कार्यालय रहेका, बसोबास रहेका व्यवसायीहरूलाई आ–आफ्नो क्षेत्रको संयोजकलाई समन्वयका लागि सम्पर्क गर्न आग्रह गरेको छ ।