काठमाडौं : आदिवासी जनजाति आयोगले नयाँ बनेको अन्तरिम सरकारमा आदिवासी जनजाति समुदायको समानुपातिक सहभागिता सुनिश्चित गर्न राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीसमक्ष अपिल गरेको छ ।
आयोगका अध्यक्ष रामबहादुर थापामगरले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘आदिवासी जनजाति समुदायले राज्य व्यवस्थामा आफ्नो पहुँच र प्रतिनिधित्व सुनिश्चित गर्न विगतदेखि संघर्ष र बलिदान गर्दै आएको छ । यसैले संक्रमणकालीन परिस्थितिमा नयाँ मन्त्रिपरिषद् गठन हुँदा समुदायको समानुपातिक सहभागिता सुनिश्चित हुनु आवश्यक रहेको छ ।’
आयोगले स्वदेश तथा विदेशमा रहेका आदिवासी जनजाति समुदाय र सम्बन्धित संघसंस्थाहरूलाई जागरूक र क्रियाशील रहन अपिल गरेको छ ।
यस्तै आयोगले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली र घाइतेप्रति शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
आन्दोलनमा ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी गरी ७२ जनाको ज्यान गएको छ । यस्तै १ सय ३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।