काठमाडौं : राजधानीको गैह्रीधारामा कार्यालय रहेको फ्युचर इम्प्लोइमेन्ट सर्भिस प्रालिले दरबारमार्ग प्रहरी वृत्तलाई तीन थान खाट र एक दर्जनभन्दा बढी प्लाई हस्तान्तरण गरेको छ ।
फ्युचर इम्प्लोइमेन्ट प्रा.लि.की सञ्चालक शुष्मा खत्रीका तर्फबाट प्रतिनिधि विष्णुमणि केसी र जेन्जी प्रतिनिधि नसिव केसीले आइतबार जलेर भग्नावशेष बनेको उक्त प्रहरी वृत्त पुगेर राहत हस्तान्तरण गरेका थिए ।
सञ्चालक खत्रीले कम्पनीको सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सामग्री हस्तान्तरण गरिएको बताइन् । जेन्जी प्रतिनिधि नसिव केसीले शान्ति सुरक्षाका लागि प्रहरी आवश्यक भौतिक पूर्वाधारको अवस्थामा रहनुपर्ने, तर भदौ २४ गतेको आगलागीबाट प्रहरी वृत्त दरबारमार्गको कार्यालय र ब्यारेकमा ठुलो क्षति भई प्रहरीलाई सुत्नसमेत समस्या देखिएकाले सोही अनुसारको राहत सामग्री उपलब्ध गराइएको बताए ।
फ्युचर इम्प्लोइमेन्टले कोरोना महामारी, बाढी पहिरो प्रकोपलगायतका बेला विभिन्न उद्धार तथा राहत सहयोग उपलब्ध गराउँदै आएको छ ।