काठमाडौं : आगलागीले संसद् भवन र सिंहदरबारका कैयन महत्वपूर्ण दस्ताबेज जलेर नष्ट भए । तर कानुन निर्माण प्रक्रियामा रहेका कतिपय विधेयक बिनाआगो खरानीजस्तै शून्यमा पुगेका छन् ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार प्रतिनिधि सभा विघटन भएपछि प्रतिनिधि सभामा विचारधीन विधेयक निष्क्रिृय हुन्छन् ।
उनी भन्छन्, ‘प्रतिनिधि सभामा उत्पति भएका र राष्ट्रिय सभामा उत्पति भएर पारित भई प्रतिनिधि सभामा आएका विधेयक निष्क्रिय हुन्छन् ।’
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका छन् । यससँगै प्रतिनिधि सभामा रहेका विधेयक निष्क्रिय भएका हुन् ।
यससम्बन्धी व्यवस्था संविधानको धारा १११ मा छ । संविधानको धारा १११ को उपधारा १० मा भनिएको छ, ‘कुनै विधेयक प्रतिनिधि सभामा प्रस्तुत भई विचाराधीन रहेको वा प्रतिनिधि सभामा पारित भई राष्ट्रिय सभामा विचाराधीन रहेको अवस्थामा प्रतिनिधि सभा विघटन भएमा वा त्यसको कार्यकाल समाप्त भएमा त्यस्तो विधेयक निष्क्रिय हुनेछ ।’
संसद् सचिवालयका अनुसार प्रतिनिधि सभा विघटन भएपश्चात् निष्क्रिय हुन पुगेका विधेयकको संख्या ३० रहेको छ । जसमा प्रतिनिधि सभामा उत्पति भएका सरकारी २१ वटा विधेयक र गैरसरकारी दुईवटा विधेयक रहेका छन् । ४ मंसिर २०७९ मा सम्पन्न चुनावबाट आएको प्रतिनिधि सभामा उत्पति भएका जम्मा २३ वटा विधेयक निष्क्रिय भएका हुन् ।
राष्ट्रिय सभामा उत्पति भएका सातवटा विधेयक पनि निष्क्रिय भएका छन् । राष्ट्रिय सभामा उत्पति भएर पारित भएर प्रतिनिधि सभामा आएर रहेका कारण ती सातवटा विधेयक पनि निष्क्रिय हुन पुगेका हुन् ।
निष्क्रिय भएका विधेयक निजामती सेवासम्बन्धी विधेयक, विद्यालय शिक्षासम्बन्धी विधेयक, जलस्रोत विधेयक, नेपाल प्रहरी विधेयक, सशस्त्र प्रहरी विधेयकलगायत रहेका छन् । यी विधेयकहरू संघीयता कार्यान्वयनसँग समेत जोडिएका छन् । त्यसैले यी विधेयक निष्क्रिय भएसँगै संघीयता कार्यान्वयनको विषय अझ लम्बिन पुगेको छ ।