२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

आगजनीबाट जोगिएका सामग्रीबाटै तयार हुँदैछ प्रधानमन्त्रीको कार्यकक्ष

Nada
२०८२ भदौ २८ गते १७:३९
Shares
आगजनीबाट जोगिएका सामग्रीबाटै तयार हुँदैछ प्रधानमन्त्रीको कार्यकक्ष

काठमाडौँ : जेन जेड प्रदर्शनका क्रममा मुख्य निशानामा परेको सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आगजनीबाट क्षतिग्रस्त भएपछि नवनियुक्त प्रधानमन्त्रीका लागि नयाँ भवनमा कार्यकक्ष तयार गरिँदै छ । सिंहदरवारको पश्चिमोत्तर भागमा गृह मन्त्रालयका लागि निर्माण गरिएको नयाँ भवनमा आगजनीबाट जोगिएका पुरानै सरसामान सारेर कार्यकक्ष निर्माणमा नेपाली सेनासहितका सुरक्षाकर्मी र कर्मचारी जुटेका छन् ।

ncell

आज बिहानदेखि नै पुरानो प्रधानमन्त्री कार्यालयबाट आगजनी र तोडफोड हुनबाट बचेका टेबल, कुर्सी, सोफा, कम्प्युटरलगायतका सर सामग्री नयाँ कार्यालयतर्फ लैजाने क्रम चलिरहेको थियो । पुरानै फर्निचर, सर सामग्री र उपकरणको व्यवस्थापन गरी नयाँ प्रधानमन्त्री कार्यालय सञ्चालनका लागि तयार गरिँदै छ ।

आगजनी भएको पाँचौँ दिन पनि सिंहदरवारको मूल भवनको पश्चिमतर्फको भागमा आगो बलिरहेको छ । तोडफोड र आगजनी भएका अधिकांश मन्त्रालय परिसरमा जलेका सवारीसाधन, कागजपत्रलगायत सर सामग्री छर पष्ट छन् ।

यसैबीच, आगजनी र तोडफोडबाट बढी क्षति पुगेको मध्येको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भने शनिबार बिदाको दिन भए पनि सचिव चुडामणि पौडेलको नेतृत्वमा कर्मचारीको ठुलै सङ्ख्या स्वस्फूर्त: रूपमा सरसफाइ र फोहर व्यवस्थापनमा जुटेका छन् । अन्य मन्त्रालयजस्तै शिक्षा मन्त्रालय परिसरमा पनि सवारी साधन जलेर ‘मानव कंकाल’ अवस्थामा रहेका छन् ।

मन्त्रालयको भूमिगत पार्किङमा राखिएका सवारी सधानमा पनि प्रदर्शनकारीले आगजनी गरेको सखाप पारेका छन् । आज बिहान ८ बजेदेखि नै सरसफाइमा जुटिरहेका मन्त्रालयका प्रवक्ता सहसचिव शिवकुमार सापकोटाले मन्त्रालयकै जनशक्ति खटिइएर सरसफाइ, फोहर व्यवस्थापन गरी दैनिक कार्य सञ्चालन गर्ने प्रयासको थालनी गरिएको बताए ।

“सरसफाइको काम अघि बढाएका छौँ, समय लाग्छ, सरसफाइ सकेर मर्मत सम्भारमा लाग्छौँ”, प्रवक्ता सापकोटाले भने, “कर्मचारीबाट जुटेर गर्न सकिने सम्मका काम सकेसम्म गर्छौँ ।” आगजनीबाट कति क्षति भयो त्यसको आँकलन गर्न नसक्दा क्षतिको लगत निकाल्न नसकिएको उनको भनाइ छ ।

प्रवक्ता सापकोटाले भने, “क्षतिको लगत निकाल्न एउटा टोली बनाएका छौँ, त्यसले काम गरिरहेको छ, पार्किङमा राखिएका गाडी, कम्प्युटर, फर्निचरमा क्षति पुगेका छन् ।” आफैँ जुटेर काम गर्दा के–कति क्षति भयो र कुन विधिबाट काम अघि बढाउँदा कार्यालय छिटो तयार गर्न सकिने उनको भनाइ छ ।

संरचनागत क्षति नभएको स्थानमा कार्यालयलाई पूर्ववत् अवस्थामा ल्याउन आफूहरूले गरिरहेको कामले सहयोग पुग्ने उनको विश्वास छ । शिक्षा मन्त्रालयका कर्मचारी जुटेर अघि बढाइएको त्यस कार्यले आन्दोलनबाट प्रभावित भएका अन्य मन्त्रालय र कार्यालय सञ्चालनका लागि प्रेरित गर्नेछ ।

सम्बन्धित खबर