रौतहट : काठमाडौं केन्द्रित जेनजी पुस्ताको आन्दोलन दोस्रो दिन मंगलबार गाउँ–गाउँमा फैलिएको छ । बिहानैदेखि रौतहटका विभिन्न क्षेत्रमा विद्यार्थी र स्थानीय नागरिक सडकमा उत्रिएका छन् ।
प्रदर्शनकारीले गौर–चन्द्रनिगाहपुर सडकखण्डको इद्रिसगेट, कटहरिया, पिपरा लगायत स्थानमा टायर बालेर सडक अवरुद्ध गरेका छन् । पूर्व–पश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगाहपुर क्षेत्रमा विद्यार्थीको प्रदर्शन बिहानैदेखि उग्र बनेको छ ।
प्रदर्शनका क्रममा स्थानीयले चन्द्रपुर नगरपालिका भवनमा आगजनी गरेका छन्। युवाहरूको समूहले भवनमा आगो लगाउनुका साथै परिसरमा राखिएका गाडी र मोटरसाइकलमा पनि आगो लगाइदिएका छन् ।
इलाका प्रहरी कार्यालय चन्द्रपुरलाई घेराउ गरिरहेका आन्दोलनकारीकै एक समूहले नगरपालिका भवनमा आगजनी गरेको बताइएको छ । घटनापछि अवस्था तनावग्रस्त बनेको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रपुर घेराउ गरेर आन्दोलन हुन थालेपछि प्रहरीले गोली चलाएको छ ।