काठमाडौँ : कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मन्त्री अधिकारीले सोमबारको आन्दोलनमा भएको दमन, हत्या र बल प्रयोगले तानाशाही व्यवस्थातर्फ उन्मुख भएको भन्दै उनले सो घटनाप्रति क्षमा याचना गर्दै राजीनामा दिएको बताएका हुन् ।
उनले लेखेका छन्, ʻलोकतन्त्रमा प्रश्न सोध्नु र शान्तिपूर्ण विरोध गर्नु नागरिकको नैसर्गिक अधिकार भएको स्वीकार गर्नुको बदला व्यापक रूपमा भएको दमन, हत्या र बल प्रयोगले हामी लोकतन्त्रतर्फ नभई तानशाही व्यवस्थातर्फ उन्मुख भइरहेको हो कि भनी म झस्किएको छु । देश निर्माण गर्न सहकार्य गर्नु पर्ने पुस्तासँग कसरी युद्ध जस्तो व्यवहार हुन पुग्यो ? यसको जवाफ नखोजी सत्तामा बस्नु मेरा लागि सह्य भएन ।’
स-साना कलिला छोराछोरीहरूको हत्या र दमनपश्चात् देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र मेरो दलले मलाई प्रदान गरेको शिक्षाको खिलाफ हुने मेरो ब्रम्हले चेतावनी दिएको र मलाई मेरो पदीय जिम्मेवारीमा टाँसिइरहन अपराध बोध भएकोले देश र जनतासमक्ष नैतिक रूपमा क्षमायाचना गर्दै, सरकारको यो अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै देश र जनतासमक्ष मन्त्री पदबाट राजीनामा पेश गरेको जानकारी गराउँदछु ।