२०८२ भदौ २४ गते मङ्गलवार / Sep 09 , 2025 , Tuesday
२०८२ भदौ २४ गते मङ्गलवार
Ads

जेनजीमाथि बर्बर दमन, १९ जनाले ज्यान गुमाए, ४ सय बढी घाइते 

shivam cement
जीवन शर्मा
२०८२ भदौ २४ गते ०७:०४
जेनजीमाथि बर्बर दमन, १९ जनाले ज्यान गुमाए, ४ सय बढी घाइते 

काठमाडौं : सोमबार माइतीघर मण्डलाबाट शान्तिपूर्णरूपमा सुरु भएको जेनजीहरूका प्रदर्शन बानेश्वर पुग्दा हिंसात्मक बन्न पुगेको पुुग्यो । राजनीतिक नेतृत्वको चाल, चरित्र र चेहराबाट आम नागरिकमा देखिएको असन्तुष्टीको आक्रोश अन्ततः रणमैदानमा परिणत भएको छ । जेनेरेसन जेड अर्थात् ‘जेनजी’ (सन् १९९७–२०१२ भित्र जन्मिएको पुस्ता)ले सोमबार राजधानीसहित देशभर शहरकेन्द्रित प्रदर्शन गरे । सरकारले बर्बर दमन गर्दा प्रदर्शन रक्तपातपूर्ण बन्न पुगेको हो । 

प्रहरीकै तथ्यांकअनुसार सोमबार साँझसम्म करिब दुई दर्जनले ज्यान गुमाएका छन् । चार सय बढी घाइते भएका छन् । यो २०६२÷०६३ को पछिल्लो जनआन्दोलनभर भएको मानवीय क्षेतिको हाराहारी हो । सरकारले संयमता नअपनाउँदा सामाजिक सञ्जाल बन्दको विरोध, भ्रष्टाचार नियन्त्रण र सुशासनको नारा लिएर आन्दोलित जेनजीहरूको प्रदर्शनले एकैदिन ठूलो मानवीय क्षति बेहोर्न पुगेको हो । 

सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि झनै रिसाएको जेनजी पुस्ताले उक्त निर्णय खारेज गर्नुपर्ने र भ्रष्टाचार रोक्नु पर्ने मुख्य माग अघि सारेका छन् । यो समुहलाई को बाट कसरी उपयोग गरियो भन्ने विषय अहिलेसम्म अन्योल छ । विद्यार्थीहरूलाई स्कूल ड्रेसमै बोलाइएको थियो, विभिन्न पेशा व्यवसायमा लागेका युवाहरूलाई त्यही अनुसार सहभागी हुन आब्हान गरिएपनि घटनास्थलको अवस्था हेर्दा योजनागतरूपमा बन्दोबस्तीका सामानसहित आएको प्रष्ट हुन्छ । 

तर, कसरी यो अवस्था आयो त्यो अझै गुमनाम छ । यद्यपि आन्दोलनलाई समर्थन गर्ने नाममा एकातिर काठमाडौं महानगरपािलकाका मेयर बालेन साहले उनिहरूलाई उक्साएका देखिन्छ । उनले सामाजिक सञ्जालमार्फत यो आन्दोलन नै परिवर्तनको आन्दोलन हुने स्पष्ट संकेत गरेका थिए । अर्कोतिर नयाँ आएका राजनीतिक दलले पनि यो समुहलाई उपयोग गरेको नीति लिएको देखिन्छ । पुरानै पार्टीका युवा नेताहरूको समेत यसमा सहयोग देखिन्छ ।  

‘जेनजी’ पुस्ताले गरेको यो आन्दोलन २०६२÷०६३ मा भएको जनआन्दोलन २ को झल्को दिएको छ । यत्रो शक्ति प्रदर्शन कसरी भयो ? के उनीहरू कुन नेटवर्क प्रयोग गरिरहेका छन् ? उनीहरूको नेतृत्व को हो ? यो विषय अहिलेसम्म अन्योल नै छ । स्थिरता र जनपक्षीय शासन सञ्चालनको प्रतिवद्धतासहित संसदीय लोकतन्त्रको सामान्य अभ्यास भन्दा तल झरेर ठुला दुई दलको गठबन्धनमा बनेको सरकारले आफ्नै प्रतिवद्धता पूरा गर्न छाडेर आन्दोलनमाथिको दमनले सरकारको औचित्यमाथि प्रश्न उठेको छ । सरकारको मुख्य सहयोगी दल नेपाली कांग्रेसको एक समुहले भने सरकारबाट बाहिरिनुपर्ने सभापतिलाई दबाब दिएका छन् । कांग्रेसका नेता डा शेखर कोइरालाले सरकारको औचित्व समाप्त भएको भन्दै तत्काल कांग्रेसले सरकार छाड्नुपर्ने बताएका छन् । ‘राजाको शासनकालमा पनि नभएको दमन वर्तमान केपी ओली नेतृत्वको सरकारले गरेको छ’, उनले भने ‘कांग्रेस अब सरकारमा बसिरहन मिल्दैन् ।’  

सर्वोच्च अदालत बार एसोसिएसनले जेनजीले गरेको प्रदर्शनमाथि राज्यले ज्यादती गरेको निश्कर्ष निकालेको छ । विज्ञप्ति जारी गर्दै सर्वोच्च बारले भनेको छ ‘जेनजीको आन्दोलनमा प्रहरी र प्रशासनबाट भएको शक्ति प्रदर्शन र सुरक्षाकर्मीबाट चलाइएको गोलीले सयौँ प्रदर्शनकारी घाइते दर्जनौ मृत्यु हुन राज्य सञ्चालकको ज्यादती हो ।’ 

बिनानेतृत्व स्वतस्फूर्त आन्दोलनको तयारी गरेका उनीहरूले विभिन्न सामाजिक सञ्जालमार्फत सबै ‘जेनजी’लाई सहभागी हुन आह्वान गरेका थिए । 
‘भ्रष्टाचार अन्त्य’ को नारासहित पुराना पुस्ताका नेता र उनीहरूका छोराछोरीविरुद्ध आक्रोश पोख्दै सुरु गरेको आन्दोलनले अन्ततः दुुई दर्जन युवाहरूको ज्यान लिएको छ । यो घटनालाई इतिहासले बिर्सने छैन् । 

तर, बढ्दो भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध जेनजीले गरेको आन्दोलनमा घुसपैठ भएको नेकपा एमालेले बताएको छ । एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जेनजीको आन्दोलनभित्र व्यापक घुसपैठ भएको बताए । ‘जेनजी आन्दोलनमा व्यापक घुसपैठ भएको एमालेको आशंका छ, जसका कारण दुःखद घटना घट्यो’, गौतमले भने, ‘जेनजीका नाममा राजनीतिकरण गरियो भन्ने हामीलाई आभास भएको छ ।’ जेनजीको आन्दोलनमा ठूलो मानविय क्षति भएपछि गृहमन्त्री रमेश लेखकले नैतिकता देखाएर राजीनामा दिएका छन् ।   

जेनजीको अदृश्य उपयोग 
आन्दोलन भड्किनुको मुल कारण घुसपैठ रहेको प्रहरीको दावी छ ।  तर, सरोकारवाला भने घटनाक्रमले प्रहरीको अस्वभाविक बल प्रयोगलाई मुख्य मानेका छन् । आन्दोलनकारी नयाँ पुस्ताको काँचो अनुुभवलाई उपयोग गर्ने अदृश्य शक्तिको स्वार्थ पूरा गर्ने गरी एकाएक भएको रक्तपातपूर्ण अवस्थाले मुलुकको शान्ति सुरक्षाको स्थितिलाई गिज्याएको छ । 

कमजोर सुरक्षा रणनीति र  आन्दोलनको उत्तरार्धमा देखिएको दमनकारी नीतिले सरकारको कार्यशैली उदांगो भएको सुरक्षा विज्ञहरूले टिप्पणी गरेका छन् । संघिय संसद् भवनको पर्खाल तोडफोडसम्म आइपुग्दा एउटा खास समूह सक्रिय रहेको प्रहरी श्रोतको दाबी छ । ‘नयाँ पुस्ताको आन्दोलनमा यो तहको होला भन्ने ठानेनौं’, नेपाल प्रहरीका एक अधिकारीले मध्यान्हसँग भने ‘कफ्र्युमा पनि एम्बुलेन्स जलाउने र संसद् भवनको पर्खाल भत्काएर कब्जाको अवस्थासम्म पुुग्नेहरू सामान्य योजनामा रहेनछन, त्यसलाई समयमै बुुझ्न सकिएन ।’

गत शनिबार प्रदेशमन्त्रीको गाडीको ठक्करबाट घाइते बालिकाबारे प्रधानमन्त्री केपी शर्मा ओलीको असंवेदनशील अभिव्यक्तिले पनि युवाहरुमा आक्रोश बढाएको राजनीतिक विश्लेषकहरू बताउँछन् । उक्त आन्दोलन स्वस्फुर्त युवाहरूको आन्दोलनका क्रममा भएका घटनाका स्वरूप हेर्दा आन्दोलनकारी युवाहरू योजनाबाहिर पुुगेको देखिन्छ । किनकी यो आन्दोलनको योजना पर्खाल तोडेर संसद भवन कब्जा गर्न जानेसम्मको थिएन । 

अहिलेको राजनीतिप्रति वाक्क–दिक्क भएर व्यवस्था माथिनै चुनौति दिनेगरी केही समयदेखि नै आन्दोलनको पूर्वतयारी भने भइरहेकै थियो ।  यद्यपि, शान्तिपूर्ण र दबावमुलक आन्दोलनको योजनासहित सडकमा उत्रिएका हजारौं संख्याका युवाहरू जब बानेश्वर पुुगेर निषेधित क्षेत्र तोड्दै संसद भवनको पर्खाल भत्काएपछि एकाएक बानेश्वर क्षेत्र रणमैदानमा परिणत हुन पुुगेको थियो । 

समयमै प्रदर्शनको सही मूल्यांकन गर्न नसक्दा ठूलो क्षति व्यहोर्नुपरेको सुरक्षाविज्ञ पूर्वडिआईजी हेमन्त मल्ल बताउँछन् । ‘युवा विद्यार्थी हुन्, आउँछन्, प्लेकार्ड देखाउँछन्, नारा लगाएर फर्किन्छन् भन्ने मूल्यांकनका आधारमा प्रदर्शनस्थलको अनुमति सहजै दिएको देखिन्छ’, उनले भने ‘तर, मुलुकमा मौलाएको भ्रष्टाचार र कुशासनले नागरिकस्तरमा चरम असन्तुष्टि त छँदैछ, त्यसमाथि युवाहरूको आन्दोलनमा राजावादीदेखि असन्तुष्ट धेरै पक्षले घुसपैठ गरेको प्रष्टै देखिन्छ । जेनजी आन्दोलन उनीहरुका लागि प्लेटफर्म बनिदियो ।’ भिड नियन्त्रणमा प्रहरी शृंखलाबद्ध कमजोर भएको उनले बताए । ‘अपराध अनुसन्धानका सुराक खटाएर राजनीतिक प्रकृतिको आन्दोलनको सही सूचना, मूल्यांकन र विश्लेषण हुनसक्दैन’, उनले भने ।  

प्रधानमन्त्रीमाथि राजीनामाको दबाब 
युवाहरूको आन्दोलनपछि उत्पन्न परिस्थितिलाई नैतिक जिम्मेवारी लिँदै सत्ता र प्रतिपक्षी दलका नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेका छन् ।  
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहित सरकारकै दल एमाले र सत्ता सहयात्री दल नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् । 
एमाले केन्द्रीय सदस्य उषाकिरण तिम्सीनाले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीको राजीनामा माग्दै भनेकी छन, ‘गृहमन्त्रीले मात्रै राजीनामा दिएर हुँदैन । यो घटनाको नैतिक जिम्मेवारी लिदै प्रधानमन्त्रीले समेत राजीनामा दिनुपर्छ ।’ 
त्यस्तै, माओवादी केन्द्रले पनि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने निश्कर्ष निकालेको छ । ‘आन्दोलनका क्रममा सरकारले प्रदर्शन गरेको व्यवहार अनुचित रहेकाले परिस्थिति सम्हाल्न प्रधानमन्त्रीले राजीनामा दिनुुको विकल्प छैन’, पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहालले भने । विवेकशील साझा पार्टीले समेत सरकारको राजीनामा माग गरेको छ । 

देउवामाथि पनि प्रेसर 
सत्ताको मुख्य सहयात्री दल नेपाली कांग्रेसभित्र जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिको मूल्यांकन गर्दै सरकारबाट बाहिरिन दवाब बढेको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई नेताहरूले सरकार छाड्न दबाब दिएका हुन् ।  पार्टीका केन्द्रदेखि स्थानीयस्तरका नेता कार्यकर्ताहरूले एमाले अध्यक्ष ओली नेतृत्वको सरकारबाट फिर्ता हुन विभिन्न माध्यमबाट आव्हान भइरहेको कांग्रेसका एक केन्द्रीय सदस्यले बताए । कांग्रेसका शीर्ष नेताहरू डा शेखर कोइराला, पूर्वउपसभापति विमलेन्द्र निधी, केन्द्रीय सदस्य डा गोविन्दराज पोखरेल, सांसद राजेन्द्र बजगाई, सुनिल शर्मालगायत नेताहरूले कांग्रेसले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने बताएका छन् ।

नेता कोइरालाले सरकारको औचित्य समाप्त भएको बताउँदै भने, ‘अब एउटा गृहमन्त्रीले राजीनामा दिनुको कुनै अर्थ छैन, कांग्रेस सरकारबाटै अलग हुनुपर्छ, यो सरकारमा अब एकछिन पनि रहन हुन्न ।’ उनले जेनजीको शान्तिपूर्ण आन्दोलनमा अन्धाधुन्ध गोली चलाएर सरकारले राजाको शासनमासमेत नभएको घटनाको झल्को दिएको बताउँदै घटनालाई निरंकुश र अधिनायकवादको पराकाष्ठा भनेका छन् ।  

पूर्वउपसभापति विमलेन्द्र निधिले ओली नेतृत्वको सरकारबाट तत्काल अलग हुनुपर्ने प्रस्ताव अघि सारेका छन् । पदाधिकारीको बैठकमा नेता निधिले व्यवस्था, प्रणालीमाथि नै खतरा उत्पन्न भएको भन्दै कांग्रेस सरकारबाट अलग हुनुपर्ने बताएका हुन् ।  ‘आजको घटनाबाट संविधान, व्यवस्था र प्रणालीमाथि खतरा आयो । यसलाई बचाउन कांग्रेस सत्ताबाट बाहिर निस्कनुपर्छ,’ उनको भनाइ छ, ‘त्यसपछि कांग्रेसले राष्ट्रिय वा सर्वदलीय बैठकको प्रस्ताव गर्ने र त्यसको अग्रसरता पनि पार्टीले लिनेगरी जानुपर्छ ।’

कांग्रेस सांसद राजेन्द्र बजगाईले जेनजी आन्दोलनमाथि सरकारले गरेको ज्यादतीको खरो टिप्पणी गरेका छन् । ‘यति हु्दा पनि पार्टी सरकारमा बसीरहँने हो भने म पार्टी नछोडेर सांसद छाड्न तयार छु’, उनले भनेका छन् । सोमबारै पार्टी पदाधिकारी बैठकमा पनि सरकारबाट हट्नुपर्ने विषय उठेपछि सभापति देउवा दबाबमा परेका छन् । बैठक लगत्तै उनी प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । चौतर्फी दबाब भए पनि कांग्रेसले तत्कालै सरकार छाड्ने अवस्था भने नरहेको संस्थापन पक्षको दाबी छ । 
 

ADV

सम्बन्धित खबर

Advertise