काठमाडौं : संसद्का दुई ठूला दल कांग्रेस र एमालेलाई मिलाएर अहिलेको सरकार निर्माण गर्दाका सुत्रधार नेता हुन्– रमेश लेखक । यसकारण सरकारमा प्रधानमन्त्री केपी शर्मा ओलीपछिको शक्तिशाली मन्त्रीका रुपमा लेखक रहेका थिए । शक्तिशाली भएकै कारण उनी भिजिट भिसामा विदेश जानेसँग अपारदर्शी रुपमा आर्थिक लेनदेन हुने गरेकोजस्तो गम्भीर आरोपमा मुछिँदासमेत पदमै रहे । यहीबेला सामाजिक सञ्जाल बन्द गर्ने निर्णयले सरकारमाथि नागरिक आक्रोश बढ्यो । सोमबार जेनजीले काठमाडौंसहित देशभर प्रदर्शन गरे । प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर कम्तिमा १९ युवाको ज्यान गयो भने झण्डै चार सय घाइते भएका छन् । यो घटनाको नैतिक जिम्मेवारी लिँदै गृहमन्त्री लेखक पद छाड्न बाध्य भए । नैतिक रुपमा र पार्टीभित्रबाट समेत चर्को रुपमा दबाब परेपछि गृहमन्त्री लेखकले राजीनामा दिएका छन् ।
तर, गृहमन्त्री लेखकले सुरक्षा कमाण्ड सम्हाल्न नसकेको बिभिन्न घटनाबाट पुष्टि भएको कांग्रेस नेताहरू नै बताउँछन् । सोमबारको घटना हुनुको पछाडि गृह प्रशासनसँग पूर्वअनुमान नहुनु र प्रदर्शनकारी संसद् भवन छिर्ने बेला अन्धाधुन्ध गोली चलाउन आदेश दिनु रहेको सम्बद्धस्रोत बताउँछन् ।
प्राध्यापक कृष्ण खनाल घटनालाई जेनजीको प्रदर्शन देशव्यापी हुँदैछ, यसको प्रभाव यस्तो पर्न सक्छ भनेर सरकारले पूर्वानुमान गर्न नसक्दाको परिणाम बताउँछन् । संवेदनशील विषयमा गृहमन्त्रीले पूर्वसूचना राख्न सक्नुपर्नेमा त्यसो हुन नसकेको उनको बुझाइ छ ।
खनालका अनुसार, सोसल मिडियासँग सम्बन्धित कम्पनीले दर्ताका लागि टेरेनन् भन्दैमा झ्याप्पै बन्द गर्दिने र विरोध गर्नेहरूको अवस्था आँकलन गर्न नसक्ने दुवैमा सरकारको कमजोरी देखिएको छ ।
‘किसिमको अन्धाधुन्द गोलि चल्ने अवस्था कसरी सिर्जना भयो ? माइतीघरदेखि बानेश्वर संसद भवनको एक किलोमिटरको दुरीको प्रदर्शनमा यति धेरैको हत्या हुने अवस्था किन बन्यो ?’ खनालको प्रश्न छ ।
प्राध्यापक कृष्ण खनालले भनेजस्तै गृहमन्त्री लेखक जेनजीको प्रदर्शनप्रछि पूर्वजानकारीमा थिएनन् भन्ने उनको व्यवहारले पनि देखाउँछ । जेनजीले बिहान ९ बजेदेखि प्रदर्शन गर्ने भनेका थिए । त्यसअनुसार युवाहरु माइतीघर मण्डलामा जम्मा भइसकेका थिए । तर, गृहमन्त्री सुरक्षा संवेदनशीलता ख्याल गरिरहेका थिएनन् । बिहान ९ बजे राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको छलफलमा गए । जहाँ सदाचार नीतिबारे छलफल थियो । मानिसका व्यवहार कस्तो हुनुपर्छ भनेर नीति बनाउने छलफलमा साढे दुई घण्टा बिताएर गृहमन्त्री लेखक अर्को संसदीय समितिमा गए । राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाल प्रहरी विधेयकमाथि छलफल थियो । जहाँ सांसदहरूका प्रश्न टिपेर बसिरहेका थिए, लेखक । अर्थात, प्रहरी विधेयकमा सांसदले सोधेका प्रश्नको जवाफ दिने तयारी गर्दागर्दै गृहमन्त्री लेखक सिंहदरवारबाट बाहिरिनुप¥यो । लेखकले संसदीय समितिमा रहेकै बेला संसद भवनको गेटमा प्रदर्शनकारी उक्लिरहेका थिए । यसलाई समेत आधारको रुपमा देखाउँदै प्राध्यापक खनाल पनि गृहमन्त्री लेखक कमाण्ड फेलियर हुन पुगेको बताउँछन् ।