२०८२ भदौ २४ गते मङ्गलवार / Sep 09 , 2025 , Tuesday
२०८२ भदौ २४ गते मङ्गलवार
Ads

जेनजी आन्दोलन हिंसात्मक हुनुका दुई कारण– घुसपैठ र प्रहरीको अस्वभाविक बल

shivam cement
मध्यान्ह
२०८२ भदौ २३ गते १६:५६
जेनजी आन्दोलन हिंसात्मक हुनुका दुई कारण– घुसपैठ र प्रहरीको अस्वभाविक बल

‘इतिहास लेख्ने दिन’ भन्दै भ्रष्टाचार र नेपो बेबीबिरुद्ध जेनजी पुस्ताले सोमबार गरेको प्रदर्शनमा हिंसा भड्किँदा ठूलो मानविय क्षति हुनपुग्यो । १७ जनाको ज्यान गइसकेको छ भने दर्जनौ घाइते छन् । माइतीघर मण्डलाबाट शान्तिपूर्ण सुरु भएको प्रदर्शन बानेश्वर पुग्दा हिंसात्मक बन्न पुगेको थियो । युवापुस्ताको आन्दोलन भड्किनुमा भड्काउ तत्वको घुसपैठ र प्रहरीको अस्वभाविक बल प्रयोगलाई कारण मानिएको छ । 

शान्तिपूर्ण रुपमा अघि बढेको प्रदर्शन बिजुलीबजार पुगेसँगै घुसपैठ भएको थियो । पछि मिसिएका केही युवाले पानीका बोतल र इटा हान्न थाले । नेतृत्व विहिन भिड उनीहरुको लहैलहैमा हिड्न थाल्यो । त्यसमाथि प्रहरीले जथाभावी बल प्रयोगले भिडलाई झन् उत्तेजित बनाइदियो । त्यो बुझेर आन्दोलनकारी एउटा जेनजी समूहले घर फर्किन आव्हान पनि गर्‍यो । त्यतिन्जेलसम्म आन्दोलन भड्किइसकेको थियो । संघिय संसद् भवनको पर्खाल तोडफोडसम्म आइपुग्दा एउटा खास समूह सक्रिय रहेको दाबी प्रहरीस्रोतको छ । ‘नयाँ पुस्ताको आन्दोलनमा यो तहको होला भन्ने ठानेनौं । कफ्र्युमा पनि एम्बुलेन्स जलाउने र संसद् गेटमा जाइलाग्नेहरु सामान्य योजनामा थिएनन्’ उच्च प्रहरी अधिकारीले भने । 

जेनजी समूहलाई स्थानीय प्रशासनले जसरी माइतीघर मण्डलादेखि बानेश्वरसम्म प्रदर्शनको अनुमति दिएको थियो, त्यसले पनि ती अधिकारीको भनाइ पुष्टि गर्छ । प्रहरी र प्रशासनले प्रदर्शनलाई ठूलो संख्यामा हुने सामान्य र शान्तिपूर्ण आन्दोलनका रुपमा हेरेको बुझिन्छ । तर, समयमै प्रदर्शनको सही मूल्यांकन गर्न नसक्दा ठूलो क्षति हुनपुगेको बताउँछन्, पूर्वडिआईजी हेमन्त मल्ल । ‘युवा विद्यार्थी हुन्, आउँछन्, प्लेकार्ड देखाउँछन्, नारा लगाएर फर्किन्छन् भन्ने मूल्यांकनका आधारमा प्रदर्शनस्थलको अनुमति दिएको देखिन्छ’ उनी भन्छन्, ‘चरम असन्तुष्टि त छँदैछ, राजावादीदेखि असन्तुष्ट धेरै पक्षले घुसपैठ गरेको देखिन्छ । जेन–जी आन्दोलन उनीहरुका लागि प्लेटफर्म बनिदियो ।’ 

पछिल्ला केही प्रदर्शनमा नेपाल प्रहरीले राजनीतिक आन्दोलन वा गतिविधिमा भिड नियन्त्रण गर्न नसकेको दृष्टान्त छन् । गत १५ चैतमा दुर्गा प्रसाईलगायत राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शन भड्किँदा एक पत्रकारसहित दुई जनाको ज्यान जानुका साथै लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए । राजनीतिक सुराकमा लिन नसक्दा घटनाको पूर्वानुमान मूल्यांकन र विश्लेषण गर्न चुक हुने गरेको पूर्वडिआईजी मल्ल बताउँछन् ।  

स्थानीय प्रशासन र प्रहरीले न प्रदर्शनको मूल्यांकन विश्लेषण गर्‍यो, न त आन्दोलन नियन्त्रणको उपयुक्त व्यवस्थापन गर्न सकेको देखियो । प्रहरी टोलीबीच राम्रो समन्वयसमेत भइरहेको थिएन् । अनि, लाठीभन्दा राइफलधारी धेरै प्रहरी परिचालन गरिएको थियो । ‘भिड नियन्त्रणमा आफूसँग जे हतियार छ, त्यही चलाउने हो । प्रदर्शन उग्र हुँदै गएपछि रोक्नु नै पर्छ । त्यसो हुँदा धेरै गोली चल्यो, धेरै मानविय क्षति हुनपुग्यो’ फिल्डमा खटिएका एक प्रहरी अधिकृतले भने । 

पूर्वडिआईजी मल्ल पनि भिड नियन्त्रणमा प्रहरीको शृंखलाबद्ध कमजोर भइरहेको स्वीकार्छन् । त्यसो हुनुमा भिड नियन्त्रणको नियमित तालिम र अभ्यासको कमीलाई मुख्य कारण मान्छन् । त्यस्तै, राजनीतिक सुराक बढाउनुपर्ने उल्लेख गर्दै भन्छन्, ‘अपराध अनुसन्धानका सुराक खटाएर राजनीतिक प्रकृतिको आन्दोलनको सही सूचना, मूल्यांकन र विश्लेषण हुनसक्दैन ।’ 
 

ADV

सम्बन्धित खबर

Advertise