२०८२ असार ६ गते शुक्रवार / Jun 20 , 2025 , Friday
२०८२ असार ६ गते शुक्रवार
Ads

मानव बेचबिखनविरुद्ध चेतना जागृत गर्दै बाँकेका महिला 

shivam cement
मध्यान्ह
२०८१ असार ३० गते ११:१२
मानव बेचबिखनविरुद्ध चेतना जागृत गर्दै बाँकेका महिला 

बाँके : जिल्लाको जानकी गाउँपालिकाका महिला मानव बेचबिखन र लैङ्गिक हिंसाविरुद्ध गाउँ बस्तीमा चेतना जागृतिमा क्रियाशील भएका छन् । जानकी–१ साइगाउँ, वडा नं ४ खजुराखुर्द र वडा नं ६ गनापुरका महिलाले सङ्गठित भएर मानव बेचबिखन र लैङ्गिक हिंसाविरुद्ध विविध गतिविधि सञ्चालन गर्दै आएका छन् ।

जानकी–४ नहरचोक निवासी देवीसरा ठकुरी भुजुवाले घरेलु हिंसाकै कारण महिला हिंसामा पर्दै आएकाले घरपरिवारमै चेतना जागृत गर्नुपर्ने बताइन् । “गरिबी र अर्थाभावको फाइदा उठाएर महिलालाई ललाइफकाई गर्नेविरुद्ध सचेत हुन जरुरी छ”, देवीसारले भनिन, “आर्थिक रूपमा कमजोर महिला, अभिभावकविहीन बालबालिकालाई दलालले आँखा लगाउन सक्छन् ।”

स्थानीय ज्ञानु स्वर्णकारले टोलबस्तीमा गठन भएका स्वावलम्बन समूहमा महिला दिदीबहिनीबीच मानव बेचबिखन र लैङ्गिक हिंसाका बारेमा छलफल र चेतना जगाउने गतिविधि हुँदै आएकाले अहिले सबै जागरुक हुँदै गएको बताइन् । 

जानकी गाउँपालिका–६ कपासीकी गीता तिवारीले मानवबेचबिखन र लैङ्गिक हिंसाका बारेमा महिला दिदीबहिनी सचेत हुँदै गए पनि घटना कम गर्न नसकेको बताइन् । मानव बेचबिखन तथा घरेलु हिंसाको प्रारम्भ आर्थिक कमजोरीका कारण हुने भएकाले आर्थिक रूपमा महिलालाई लाभ हुनेगरी स्थानीय सरकार र सामाजिक सङ्घसंस्थाले कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको माग छ ।

जानकी गाउँपालिका–४ का वडाध्यक्ष रमेशकुमार बर्माले समुदायस्तरमा आइएनएफले सञ्चालन गरेको परियोजनाले धेरै सकारात्मक काम गर्दै आएको बताउँदै स्थानीयवासीले सिकेका कुरालाई व्यवहारमा उतार्ने प्रयास गर्दै आएको बताए । उनले भने, “मधेसी समुदाय अझै पनि शिक्षा र चेतनाका हिसाबले पछाडि रहेकाले लैङ्गिक हिंसालगायत सामाजिक विकासमा पनि पछाडि परको छ ।”

आगामी आवका लागि मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्य गर्न स्थानीय सरकारको तर्फबाट पनि समन्वयमा कार्यक्रम प्रभावकारी बनाइने छ”, वडाध्यक्ष बर्माले भने ।

ADV

सम्बन्धित खबर

Advertise