२०८२ जेठ ३० गते शुक्रवार / Jun 13 , 2025 , Friday
२०८२ जेठ ३० गते शुक्रवार
Ads

एयर इण्डिया विमान दुर्घटना : दुई सय बढीको मृत्यु, एक यात्री जीवितै

अस्मिता बम
२०८२ जेठ २९ गते २२:५३
एयर इण्डिया विमान दुर्घटना : दुई सय बढीको मृत्यु, एक यात्री जीवितै

काठमाडौं : भारतको पश्चिमी शहर अहमदाबादमा बिहीबार ठुलो विमान दुर्घटना भएको छ । २४२ यात्रु बोकेको एयर इन्डियाको विमान लन्डनका लागि उडेको केही मिनटभित्रै दुर्घटनामा परेको हो । 

भारतका उड्डयन अधिकारीहरूले दुर्घटनालाई ‘दुःखद’ भनेका छन् । लन्डनको ग्याटविकका लागि उडेको एयर इन्डियाको फ्लाइट १७१, बोइङ ७८७–८ ड्रिमलाइनर उडानको केही समयपछि दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन् । जहाज भारतीय समयअनुसार विमानस्थलबाट १ बजेर ३८ मिनेटमा उडेको र त्यसको २ मिनेटमै दुर्घटनाग्रस्त भएको भनिएको छ ।  

दुर्घटनास्थलमा १ जना जीवित फेला परेका छन् भने २०४ जनााको मृत्यु भएको छ । मृतकको संख्या अझ बढ्न सक्ने अधिकारीहरूको भनाइ उद्दृत गर्र्द भारतीय समाचार संस्था एएनआईले जनाएको छ । साथै दुर्घटनामा परी घाइते भएका ४१ जनाको उपचारका जारी रहेको पनि प्रहरीले जनाएको छ ।

भारतको नागरिक उड्डयन प्राधिकरणका अनुसार जहाजमा २ पाइलट र १० चालक दलका सदस्यसहित २४२ यात्री सवार थिए । विमानमा १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगाली र १ क्यानाडाली यात्रु थिए ।

दुर्घटनासँगै भारत शोकमा डुबेको छ । भारतका उड्डयनमन्त्रीले अहमदाबादमा भएको दुर्घटनाबाट आफू ‘स्तब्ध र विक्षिप्त’ भएको बताएका छन् ।

एयर इन्डियाको विमानले मेडे कल जारी गरेको र ‘उडानपछि तुरुन्तै दुर्घटनाग्रस्त भएको’ नागरिक उड्डयन महानिर्देशनालयले बताएको छ । विमानस्थलको परिधि बाहिर विमान दुर्घटना भएको हो ।

भारतको गुजरात राज्यको मुख्य सहर अहमदाबादमा करिब ८० लाख मानिस बस्छन् र व्यस्त विमानस्थल घना खचाखच भरिएका आवासीय क्षेत्रहरूले घेरिएको छ ।

नागरिक उड्डयन महानिर्देशनालयका अनुसार विमानले खतराको सूचक ‘मे डे’ कल जारी गरेको थियो र उडान भरेलगत्तै विमानस्थलको परिधिबाहिर दुर्घटनाग्रस्त भएको थियो ।

भारतको राष्ट्रिय सुरक्षा निकाय सेन्ट्रल इन्डस्ट्रियल सेक्युरिटी फोर्सले सार्वजनिक गरेको तस्वीरमा विमानको पछाडिको भाग एउटा भवनमा ठोक्किएको देखिएको छ ।

विमान अहमदाबादको सिभिल अस्पताल र शहरको हर्स क्याम्प नजिकैको क्षेत्रमा खसेको थियो ।

भाग्यशाली व्यक्ति

विमानको ११–ए सीटमा बसेका यात्रु जीवितै भेटिएका छन् । ४० वर्षीय बेलायती नागरिक विश्वासकुमार रमेश जिवितै भेटिएका हुन् । विश्वास परिवार भेट्न केही दिनका लागि उनी भारत आएका थिए । उनी दाजु अजयकुमार रमेशसँग बेलायत फर्कंदै थिए । ‘टेकअफ भएको ३० सेकन्डमै ठूलो आवाज आयो । अनि जहाज दुर्घटना भयो । एकैछिनमा सब तहसनहस भयो’, उनले भने । भारतीय मिडियाहरूका अनुसार विश्वासको उपचार अहमदाबाद सिभिल अस्पताल भइरहेको छ । सिट नम्बर ११ ‘ए’ मा बसेका उनको छाती, आँखा र खुट्टामा चोट लागेको छ । उनका दाजु अजय भने अर्कै लाइनमा बसेका थिए । दाजुको अवस्था कस्तो छ भन्ने अहिलेसम्म खुलेको छैन ।

विमान दुर्घटनाप्रति भारतीय राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्रीसहित विपक्षी दलका नेताहरूले दुःख व्यक्त गरेका छन् ।

राष्ट्रपति द्रोपदी मुर्मूले विमान दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यो हृदयविदारक विपत्ति भएको बताएकी छिन् । यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनालाई दुःखद भन्दै स्तब्ध तुल्याउनुका जनाएका छन् ।

त्यसैगरी, कांग्रेस संसदीय दलकी अध्यक्ष सोनिया गान्धी, कांग्रेस सांसद तथा लोकसभामा प्रतिपक्षका नेता राहुल गान्धीले पनि दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

दुर्घटनाको शृङ्खला

भारतले घातक हवाई दुर्घटनाहरूको शृङ्खलाको सामना गरेको छ । यसमा सन् १९९६ को दुर्घटना पनि समावेश छ । त्यसबेला दुईवटा जेट नयाँदिल्लीको आकाशमाथि हावामा ठोक्किँदा ३५० जनाको मृत्यु भएको थियो ।

सन् २०१० मा दक्षिण पश्चिम भारतको मङ्गलोर विमानस्थलमा एयर इन्डिया एक्सप्रेसको जेट दुर्घटना भएर आगो लागेको थियो । उक्त दुर्घटनामा १६६ यात्रुको मृत्यु भएको थियो ।

कसरी भयो दुर्घटना

सार्वजनिक तस्बिर र भिडिओअनुसार जहाजले विमानस्थलबाट टेक–अफ लिएपछि जति उचाई लिनुपर्ने हो, त्यति लिन नसकेको देखिएको छ । त्यसपछि बिस्तारै तलतल हुँदै छेकिएको र एकाएक कालो धुँवाको मुस्लो निस्किएको दृश्यमा देखिन्छ । जहाज सहरी क्षेत्रमै खसेकाले ठुलो क्षति भएको होे ।

प्रारम्भिक अनुसन्धानले विमानको इन्जिनमा आएको प्राविधिक गडबडीलाई दुर्घटनाको कारण मानिएको छ ।

विमानको मुख्य पाइलट सुमित सभरवाल र को–पाइलट क्याइब कुन्दर थिए ।

हालसम्म २०४ जनाको शव निकालिएको छ । निकालिएका शवहरू पूर्ण रूपमा जलेको छ । अहिले उक्त क्षेत्रमा हज्जारौँ उद्धारकर्मी, सयौँ दमकल र एम्बुलेन्स पनि परिचालन गरिएको भनिएको छ ।  

जहाज दुर्घटनापछि अहमदावादको विमानस्थलमा सबै उडान तथा अवतरण रोकिएको थियो ।

दुर्घटनाग्रस्त जहाजका क्याप्टेन सुमित साभरवाल थिए । उनले नै जहाज चलाइरहेका थिए । उनीसँग ८ हजार २०० घण्टा जहाज उडाएको अनुभव रहेको जनाइएको छ । उनीसँग रहेका को–पाइलन क्लाइब कुन्दरसँग पनि ११ सय घण्टा उडाएको अनुभव थियो ।  

दुर्घटनाग्रस्त जहाज बोइङ ७८७ ड्रिमलाइनर मोडलको जहाज हो ।  यसको उडान अवधि ४४ हजार उडान चक्र रहेको छ । यो भनेको ३०देखि ५० वर्षसम्म चल्नसक्ने भनिएको छ ।  

दुर्घटनामा गुजरात राज्यका पूर्वमुख्यमन्त्री विजय रूपाणीको पनि निधन भएको छ । आफ्नी छोरीलाई भेट्न लन्डन जाँदै गर्दा उनी सवार विमान दुर्घटनामा परेको हो ।

एयर इन्डियाको यो पहिलो विमान दुर्घटना होइन, यसअघि ६ पटक ठूला दुर्घटना भएको इतिहास छ ।

सन् १९३२ मा स्थापना भएको एयर इन्डियालाई टाटा ग्रुपले २०२२ मा पुनः खरिद गरेको थियो ।

सन् १९३२ मा स्थापना भएको एयर इन्डियालाई स्थापनाकालमा टाटा एयरलाइन्स भनिन्थ्यो । सन् १९४६ मा टाटा एयरलाइन्सका नाम परिवर्तन गरी एयर इन्डिया राखिएको थियो ।

त्यसपछि एयर इन्डियालाई १९५३ मा सरकारीकरण गरियो । १९६० देखि बोइङ–७०७ विमान खरिद गरेर जेट युगमा प्रवेश ग¥यो । जेट विमान प्रयोग गर्ने पहिलो एशियाली एयरलाइन्स रहेको बताइन्छ । २००७ मा एयर इन्डिया र इन्डियन एयरलाइन्स गाभियो ।

तर, २०२२ मा एयर इन्डियालाई पुनः टाटा ग्रुपले खरिद ग¥यो । हाल यो टाटा ग्रुपकै स्वामित्वमा छ । एयर इन्डियाले नेपालमा समेत उडान भर्दै आएको छ ।

नेपालद्वारा दुःख व्यक्त

राष्ट्रपति रामचन्द्र पौडेलले दुर्घटनाले आफू स्तब्ध भएको बताएका छन् । सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रपति पौडेलले जहाज दुर्घटनाले आफू स्तब्ध भएको र मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।  

यस्तै। परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । 

प्रत्यक्षदर्शी भन्छन्–भूकम्प आएको जस्तो लाग्यो

दुर्घटनाका एक प्रत्यक्षदर्शीले दुर्घटना हुँदाको दृश्य कस्तो थियो भनेर बताएका छन् । भारतीय समाचार एजेन्सी पीटीआईलाई भने, ‘म घरमा बसिरहेको थिएँ, अचानक ठुलो आवाज आयो । भूकम्प आएको जस्तो महसुस भयो । चारैतिर धुवाँ थियो । त्यहाँ धेरै लाशहरू छरिएका थिए ।’ भाजपा विधायक दर्शना वाघेलाले समाचार एजेन्सी एएनआईलाई भनिन्, ‘म यहाँ मेरो कार्यालयमा बसिरहेकी थिएँ । ठुलो विस्फोट भयो । जब म घटनास्थल गएँ, मैले विमान दुर्घटनाग्रस्त भएको देखेँ। त्यहाँ धेरै धुवाँ थियो ।’

एजेन्सीको सहयोगमा

ADV

सम्बन्धित खबर