२०८२ जेठ ३० गते शुक्रवार / Jun 13 , 2025 , Friday
२०८२ जेठ ३० गते शुक्रवार
Ads

सुदूरपश्चिमका विद्यालयमा किशोरकिशोरीमैत्री सूचना केन्द्र प्रभावकारी

ललित बोहरा
२०८२ जेठ २८ गते २१:०२
सुदूरपश्चिमका विद्यालयमा किशोरकिशोरीमैत्री सूचना केन्द्र प्रभावकारी

बैतडी : बाल विवाह, महिनावारी सरसफाइ, यौन तथा प्रजनन स्वास्थ्य जस्ता संवेदनशील विषयमा जानकारी दिने उद्देश्यले सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लामा किशोरकिशोरीमैत्री सूचना केन्द्र स्थापना भइरहेको छ । ती केन्द्रहरू विशेषगरी विद्यालयमा स्थापना गरिएको छ, जहाँ किशोरकिशोरीले यौनिकता र स्वास्थ्यसम्बन्धी विषयमा खुलारूपमा छलफल गर्न सक्ने वातावरण सिर्जना गरिएको छ ।

बैतडी जिल्लाका १७ विद्यालयमा सञ्चालनमा रहेका यस्ता सूचना केन्द्र प्रभावकारी सावित भएका छन् । ज्ञानेश्वर मावि, पाटन नगरपालिका–९ का शिक्षक धनबहादुर महराका अनुसार यस्ता केन्द्रहरू किशोरकिशोरीमा यौन तथा प्रजनन स्वास्थ्यबारे सचेतना फैलाउने माध्यम बनेका छन् ।

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष, नेपाल परिवार नियोजन संघ, स्थानीय तह र विद्यालयको सहकार्यमा सञ्चालित केन्द्रले विद्यालयदेखि समुदायसम्म सकारात्मक प्रभाव पारेको जिल्ला कार्यक्रम संयोजक खगेन्द्र भट्टले जानकारी दिए ।

कृष्ण मावि, पाटनका प्रधानाध्यापक वीरेन्द्र केसीका अनुसार, दशरथचन्द, पाटन र मेलौली नगरपालिकाका विद्यालयमा सूचना केन्द्र सञ्चालनमा आएपछि बालबालिकामा उल्लेख्य परिवर्तन आएको छ ।

छात्रा भागरथी बडुले विद्यालयबाट प्राप्त ज्ञान समाजमा समेत फैलाइरहेको बताइन् । ‘रुढीवादी सोच भएका समाजमा समेत परिवर्तन देखिन थालेको छ,’ उनले भनिन् ।

दुर्गा मावि, मेलौली नगरपालिका–५ खलिगाडका छात्र भुवन जोशीले पनि सूचना केन्द्रमार्फत महिनावारी सरसफाइ, यौन तथा प्रजनन स्वास्थ्य, बाल विवाह लगायत विषयमा साप्ताहिक छलफल हुने जानकारी दिए । ‘सानो उमेरमा विवाह पुण्य मानिन्छ भन्ने सोच हामीले तोड्न थालिसकेका छौं,’ उनले भने ।

दशरथचन्द नगरपालिकाका सात विद्यालयसहित बैतडीका १७ विद्यालयमा सूचना केन्द्र सञ्चालनमा छन् । यस्ता केन्द्रहरूलाई थप विद्यालयसम्म विस्तार गर्ने प्रतिबद्धता जनप्रतिनिधिहरूले जनाएका छन् ।

दशरथचन्द नगरपालिकाका नगर प्रमुख पुष्कर जोशीका अनुसार, किशोरकिशोरीमैत्री सूचना केन्द्रले यौनिकता जस्ता संवेदनशील विषयमा खुला संवादको अभ्यास विकास गरेको छ । ‘विकास भनेको केवल सडक बनाउनु होइन,’ उनले भने, ‘हानिकारक प्रचलन हटाउने अभियान पनि विकासकै हिस्सा हो ।’

नेपाल परिवार नियोजन संघका अनुसार, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको सहयोगमा स्थापना गरिएका ती केन्द्रहरू अहिले स्थानीय सरकारलाई हस्तान्तरण गरिसकिएको छ । संघका पाटन शाखा प्रमुख वासुदेव बिष्टका अनुसार, अब सञ्चालनको जिम्मेवारी स्थानीय तह र विद्यालयको हुनेछ ।

संघका जिल्ला सभापति मानबहादुर चन्दले विद्यालयहरूमा यस्ता केन्द्रका कारण किशोरकिशोरीमा देखिएको परिवर्तन उल्लेख्य भएको भन्दै स्थानीय सरकारले अझ बढी अग्रसरता लिनुपर्ने बताए ।

यद्यपि केही विद्यालयले स्रोत शिक्षकको जिम्मेवारी, फर्निचर र प्रविधिजन्य सामग्री अभाव जस्ता चुनौती पनि रहेको बताएका छन् । विद्यालय प्रशासनका अनुसार, सूचना केन्द्रलाई सशक्त बनाउन स्मार्ट बोर्डजस्ता सामग्रीको माग सम्बन्धित नगरपालिका समक्ष राख्ने तयारी भइरहेको छ ।

ADV

सम्बन्धित खबर