२०८२ जेठ २९ गते बिहिवार / Jun 12 , 2025 , Thursday
२०८२ जेठ २९ गते बिहिवार
Ads

पर्वत समाज कतारलाई खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि

तिलु शर्मा पौडेल
२०८२ जेठ २७ गते २२:१७
पर्वत समाज कतारलाई खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि

दोहा कतार : कतारमा अन्तर नेपाली समुदाय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि पर्वत समाज कतारले जितेको छ । इस्लाम धर्मालम्बीहरुको दोस्रो ठुलो पर्व वक्र इद (इद-उल-अज्हा) को अवसरमा रोयल नेपाल यूथ एसोसिएसन ठकुरी ग्रुप कतारले गैरआवासीय नेपाली संघ (एनआरएन एनसीसी) कतारको खेलकुद विभागसँगको सहकार्यमा आयोजित प्रतियोगिताको फाइनल खेलमा आयोजकको टिमलाई हराउँदै उपाधि जितेको हो ।

सोमबार राति सम्पन्न खेल वेस्ट अफ फाइभमा रहेर खेलाइएको फाइनल खेल आयोजक रोयल नेपाल र पर्वतले २/२ सेट आफ्नो पक्षमा पारे पनि अन्तिम सेटमा पर्वत १३ अंकमा र रोयल १० अंकमा रहेको अवस्थामा रोयलका तर्फबाट प्रहार भएको स्पाइक आउट भएको भनी रेफ्रीले पर्वत तर्फ बल देखाएपछि आयोजकका खेलाडीले बल चेक आउट भएको दाबी गर्दै  रेफ्रीको निर्णयमा असहमति जनाए । उक्त असहमति पछि खेल करिब आधा घण्टा प्रभावित बन्यो । आयोजकका तर्फबाट रेफ्रीको निर्णय सदर गर्दै खेल सञ्चालनका लागि रेफ्रीलाई अनुरोध गरे पनि आयोजकका खेलाडीले ग्राउन्ड छोडेर हिँडेपछि रेफ्रीले १४-१० को अवस्थाबाट खेल सुरु गर्दै पर्वतलाई सर्भिसको लागि  सिटि फुकेपछि पर्वतले गरेको सर्भिस खाली ग्राउन्डमा झरेसँगै रेफ्रीले पर्वतलाई १५-१० ले विजयी भएको घोषणा गरेका थिए ।

करिब ४ दिनसम्म चलेको प्रतियोगिताको समापन समारोह तथा फाइनल खेल हेर्न कतारको औद्योगिक क्षेत्रको ५२ नम्बर लेफ्ट साइडमा नेपालीको बाक्लो भिड लागेको थियो । विजेताले करिब पौने २ लाख नेपाली रुपैयाँ (५ हजार कतारी रियाल), उपविजेताले करिब १ लाख रुपैयाँ (३ हजार रियाल) र मेडल प्राप्त गरे । प्रतियोगिताको तृतीय स्थानको उपाधि भने स्याङ्जा सहयोग समाजले उचालेको छ भने सान्त्वना पुरुषकार कर्णाली प्रदेशले हात पारेको छ । तृतीय पुरस्कार ५५ हजार नेपाली (१५ सय रियाल) र सान्त्वना पुरुषकार १७ हजार (५ सय रियाल) रहेको थियो । २८ टिमको सहभागिता रहेको प्रतियोगिताका विजयी टिमलाई एनसिसिका अध्यक्ष रमेश भट्ट र नेपाल भलिबल सङ्घका केन्द्रीय सदस्य आँचल सिंह ठकुरीले नगद सहित ट्रफि र प्रमाणपत्र प्रदान गरेका थिए ।

समापन समारोहका प्रमुख समेत रहेका भट्टले प्रतियोगिताले परदेशमा रहेका नेपालीको शिर सधैँ उँचो राख्न मद्दत गर्ने बताए । पवित्र समाज नेपालमा आश्रय लिएर बसेका अनाथ बालबालिकालाई सहयोग गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजक संस्थाका अध्यक्ष केशु मल्ल ठकुरीले बताए ।  प्रतियोगितामा स्याङ्जा सहयोग समाजबाट सहभागी भएका गण्डकी प्रदेशका क्याप्टेन सज्नु विक्रम शाह प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका छन् । त्यसै गरी आयोजकका टिमका आशिष श्रेष्ठ उत्कृष्ट इस्पाइकर, महेन्द्र चौधरी उत्कृष्ट ब्लकर र पर्वत समाज कतारका अस्मित मल्ल उत्कृष्ट लिब्रो घोषित भएका छन् ।

ADV

सम्बन्धित खबर