काठमाडौं : भारतीय दूतावासले नेपाली युवा क्रिकेट खेलाडीलाई प्रोत्साहन स्वरुप फेलोसिप प्रदान गर्ने भएको छ । पहिलो संस्करणको भारतीय राजदूत क्रिकेट प्रतियोगिताको समापनपछि राजदूतावासले ‘नेपाली युवाहरूका लागि राजदूत क्रिकेट फेलोसिप’को घोषणा गरेको हो ।
नेपालका २ जना युवा क्रिकेटरलाई भारतका प्रतिष्ठित कोचिङ एकेडेमीमा कोचिङ प्रदान गर्न फेलोसिप दिइने दूतावासले जनाएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले यो फेलोसिपले युवा विकासलाई सहयोग गर्ने बताए । उनले जनता–जनताबीचको बलियो सम्बन्धलाई प्रवद्र्धन गर्ने भारतको निरन्तर प्रतिबद्धताको अंश रहेको उल्लेख गरे ।
यस्तै राजदूत श्रीवास्तवले खेलकुदको क्षेत्रमा नेपाल–भारत सहकार्यलाई प्रगाढ बनाउन ३ जना यू–१९ नेपाली क्रिकेटरलाई क्रिकेट किट हस्तान्तरण गरे ।
दूतावासले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भारतीय राजदूत क्रिकेट प्रतियोगिताको पहिलो संस्करणको आयोजना गरेको थियो ।
प्रतियोगितामा भारतीय दूतावास, नेपालको परराष्ट्र मन्त्रालय, बेलायती दूतावास, नेपाल पत्रकार महासंघ, कर्पोरेटहरू र नेपालमा रहेका भारतीय डायस्पोराको प्रतिनिधित्व गर्ने ६ टोलीको सहभागिता थियो । फाइनलपछि ट्रफी वितरण समारोहमा खेलमा उत्कृष्ट प्रदर्शन गर्नेलाई सम्मान गरिएको थियो ।