काठमाडौं : पछिल्लो समय अख्तियारले विशेष अदालतमा मुद्दा लैजानेक्रम बढेको छ । पूर्वधानमन्त्री माधव कुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेपछि चर्चामा रहेको अख्तियारले आइतबार मात्रै आयोगले तीन वटा मुद्दा मुद्दा दायर गर्यो ।
एउटा– नेपाल टेलिकममा बिलिङ प्रणाली मर्मत सम्भारका नाममा भ्रष्टाचार भएकोसँग सम्बन्धित छ ।
दोस्रो– नेपाल आयल निगम लिमिटेड गण्डकी प्रादेशिक कार्यालय गगनगौंडा कास्कीका प्रादेशिक प्रमुख चित्तरञ्जन दाससमेत पाँच जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ ।
तेस्रो– चितवनस्थित नेपाल नमूना माध्यमिक विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष तिलकराज शर्मा पौडेलसमेत ६ जनाविरुद्ध नपाएको ओहदा पाएको भनी अधिकार दुरुपयोग गरे भन्नेसँग सम्बन्धित छ ।
अख्तियारका अनुसार जेठ महिनाको २५ दिनमा १८ वटा भ्रष्टाचारसँग सम्बन्धित मुद्दा विशेष अदालतमा दर्ता भएको छ । जसमा पूर्वधानमन्त्रीदेखि बहालवाला सांसद र नेपाल टेलिकमकी प्रबन्ध निर्देशक समेत आरोपित रहेका छन् । जसबाट अर्बौ बिगो मागदाबी भएका छन् ।
गत बिहीबार आयोगले पतञ्जली जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विरुद्ध मुद्दा दायर गरेको थियो । जसमा ९३ जना प्रतिवादी छन् । पतञ्जली जग्गा प्रकरणमा तत्कालीन मन्त्रिपरिषद्का कानुनमन्त्री प्रेमबहादुर सिंह, स्वर्गीय भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ, स्वर्गीय मुख्यसचिव माधव घिमिरे र सचिव छविराज पन्तविरुद्ध समेत मुद्दा दायर भएको छ ।
जेठ १ गते आयोगले पूर्वमन्त्री एवं नेपाली कांग्रेसका सांसद मोहन बहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा लगाएको थियो । उनलाई टेरामक्स प्रकरणमा मुद्दा दायर गरिएको हो ।
तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री बस्नेत, दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झासहित १६ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको छ । उनीहरुविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार बिगो माग दाबी छ ।
आइतबार विशेष अदालतमा दायर नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालसहित १८ जनाविरूद्धको भ्रष्टाचार मुद्दा पनि उत्तिकै महत्वपुर्ण छ ।
नेपाल टेलिकममा बिलिङ प्रणाली मर्मत सम्भारका नाममा भ्रष्टाचार भएको निष्कर्षसहित १८ जनाविरूद्ध ३३ करोड बिगो दाबीसहित विषेश अदालतमा मुद्दा दायर गरेको हो । आयोगले टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल र पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेलसहितलाई प्रतिवादी बनाएको छ ।
टेलिकममा तत्कालीन प्रमुख प्राविधिक अधिकृत प्रतिभा वैद्य, प्रमुख वित्तिय अधिकृत राजेन्द्र श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत झविन्द्रलाल उपाध्याय, निर्देशक विनिता श्रेष्ठ, तत्कालीन निमित्त निर्देशक अमुल प्रधानविरुद्ध समेत मुद्दा दायर भएको छ । मुद्दा दायर हुने अन्यमा तत्कालीन प्रबन्धक देवेन्द्र खतिवडा, तत्कालीन उपप्रबन्धकहरू राजीवकुमार केसी, सन्तोषकुमार श्रेष्ठ, नवल चौधरी, मुक्तिप्रसाद अर्याल, हेमप्रभा रामप्रताप कर्ण र परमात्मा भट्टराई पनि छन ।
नेपाल टेलिकममा बिलिङ प्रणाली पुरानो हुँदा फोन नलाग्ने, लागे पनि काटिने लगायतका समस्या भएपछि नयाँ प्रणाली जडान गर्नुपर्ने निर्णय भएको थियो । तर प्रबन्ध निर्देशकसहितको मिलेमतोमा पुरानै प्रणाली जडान गरेको एसिया इन्फो कम्पनीलाई मर्मत सम्भारको जिम्मोवारी दिएको अख्तियारको ठहर छ । यसमै अनियमितता भएको अख्तियारको निष्कर्ष छ ।
अख्तियारबम अनुसार हरेक वर्ष ६५ करोड दिने भन्दै टेलिकमले मर्मतका लागि विना प्रतिस्पर्धा एसिया इन्फोलाई जिम्मा लगाइएको थियो । नयाँ प्रणाली जडानका लागि टेण्डर प्रक्रियासमेत अगाडि बढिसकेको अवस्थामा सुनील पौडेल प्रबन्ध निर्देशक बनेर आएपछि टेण्डर नै रोकिएको थियो ।
पुरानै विलिङ प्रणाली मर्मतका नाममा टेलिकमको रकम चुहावट भएको र त्यसवाट ३३ करोड नोक्सानी भएको अख्तियारको दाबी छ ।