पेनाङ : मलेसियास्थित नेपाली दूतावासले पेनाङ शहरमा घुम्ती कन्सुलर सेवा सुरु गरेको छ । शनिबार र आइतबार पुलाउ पेनाङस्थित सनसाइन स्क्वायर, लेभल ४, बैंक्वेट हलमा नेपाली कामदारको राहदानी नवीकरणलगायतका समस्या समाधान गरिएको छ । २ दिनमा ३ सय बढी नेपालीले सेवा लिएको बताइएको छ ।
प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) मलेसियाको आर्थिक सहयोगमा सम्पन्न भएको घुम्ती कन्सुलर सेवा कार्यक्रममा मुख्यगरी राहदानी नवीकरण, कन्सुलर सिफारिसजस्ता आवश्यक कागजातहरू प्रदान गरिएको जनाइएको छ ।
कार्यक्रममा नेपाली दूतावासका उपनियोग प्रमुख मुदिता बज्राचार्य, पिएनसीसी मलेसिया प्रमुख पूर्ण सुब्बा लिम्बू, कार्यकारी निर्देशक सोमप्रसाद लामिछाने, जन उद्धार केन्द्र मलेसियाका अध्यक्ष केसु थापालगायतको उपस्थिति रहेको थियो ।
नेपाली दूतावासले मलेसियाका अन्य क्षेत्रहरूमा पनि आगामी दिनमा नेपाली कामदारको सहजताका लागि घुम्ती सेवा सञ्चालन गर्ने बताएको छ ।