२०८२ जेठ २५ गते आइतवार / Jun 08 , 2025 , Sunday
२०८२ जेठ २५ गते आइतवार
Ads

सहरी क्षेत्रको ट्राफिक व्यवस्थापन

मध्यान्ह
२०८२ जेठ २५ गते ०७:४६
सहरी क्षेत्रको ट्राफिक व्यवस्थापन

– खगेन्द्र पौडेल
ट्राफिक व्यवस्थापन आजको समयमा एक गम्भीर चुनौती बनिसकेको छ, विशेषगरी ती शहरहरूमा जहाँ जनसंख्या तीव्र गतिमा वृद्धि भईरहेको छ र यातायातका साधनहरूको संख्या दिन प्रतिदिन बढिरहेको छ । ट्राफिक जाम, सवारी दुर्घटना, वायु प्रदूषण, समयको नोक्सानी जस्ता समस्या शहरी जनजीवनलाई प्रभावित पारिरहेका छन् । यस्तो अवस्थामा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउनु अनिवार्य छ, जसले मात्र शहरलाई सुरक्षित, सहज र दिगो विकासको मार्गमा लैजान सक्छ ।

सहरी ट्राफिक समस्याको मूल कारण मध्ये प्रमुख हो योजनाबिहीन सडक संरचना र सार्वजनिक यातायात प्रणालीको कमजोरी । धेरैजसो नेपाली शहरहरू, विशेषगरी काठमाडौं उपत्यका, पोखरा, विराटनगर जस्ता शहरहरूमा सडक सञ्जाल पर्याप्त चौडा छैन । जहाँ सडक छ, त्यहाँ पनि फुटपाथ अभाव, पार्किङको अव्यवस्था वा निर्माण कार्यको लापरवाहीले गर्दा ट्राफिक अवरोध हुने गर्दछ । अर्कोतर्फ, निजी सवारीसाधनप्रति बढ्दो आशक्ति र सार्वजनिक यातायातको असुविधाजनक स्थिति पनि ट्राफिक जामको कारक बनेको छ । यदि ट्राफिक व्यवस्थापन प्रभावकारी ढंगले गर्नुपर्छ भने, यसको समाधान बहुआयामिक र दीर्घकालीन हुनुपर्छ ।
सबैभन्दा पहिले शहरी यातायातको दीर्घकालीन योजना बनाउनु आवश्यक छ । शहर विस्तारसँगै भविष्यमा हुने सवारी साधनको वृद्धि र जनसंख्यालाई ध्यानमा राखेर सडकको चौडाइ, मार्गहरूको संयोजन, अन्तरजिल्ला र अन्तरशहर यातायात समन्वय जस्ता विषयमा योजना तयार पार्नुपर्छ । नयाँ सडक निर्माण गर्दा वा पुराना सडक विस्तार गर्दा मात्र होइन, ट्राफिक प्रवाहलाई सहज बनाउने हिसाबले ‘वन वे’ प्रणाली, घुम्ती (राउन्ड अबाउट), ‘फ्लाइओभर’ वा ‘अन्डरपास’ निर्माणको पनि व्यवस्था गरिनुपर्छ । ट्राफिक संकेत बत्तीहरूको उचित व्यवस्थापन, इलेक्टोनिक संकेतहरू र डिजिटल ट्राफिक नियमन प्रणालीको प्रयोग आजको आवश्यकता हो ।

दोस्रो महत्वपूर्ण पक्ष हो, सार्वजनिक यातायात प्रणालीको सुदृढीकरण । यदि मानिसहरूलाई निजी सवारीभन्दा छिटो, सुरक्षित र आरामदायी सार्वजनिक यातायात सुविधा उपलब्ध गराउन सकियो भने ट्राफिक दबाब स्वतः घट्न सक्छ । यसका लागि शहरहरूमा बस सेवा विस्तार, मेट्रो वा ट्राम सेवा (जहाँ सम्भव छ) जस्ता वैकल्पिक साधनहरूमा लगानी गर्नु आवश्यक छ । सार्वजनिक यातायातमा ‘टाइम टेबल’, टिकटिङ प्रणाली, महिलाहरूका लागि सुरक्षित सिट, निःशुल्क वा छुट सुविधा भएका वर्गहरूको व्यवस्था गरिएमा यसको प्रयोगकर्ता संख्या वृद्धि हुन्छ ।

तेस्रो पक्ष हो, ट्राफिक नियमको कडाइपूर्वक कार्यान्वयन । नेपालमा प्रायः ट्राफिक नियमको उल्लंघन सामान्यजस्तो भएको छ । बिना लाइसेन्स सवारी चलाउने, जथाभावी पार्किङ गर्ने, जेब्राक्रसिङमा पनि नरोकिने जस्ता प्रवृत्तिहरू आम छन् । ट्राफिक प्रहरीको संख्या तथा सीप बढाउनुका साथै सीसी क्यामेरा, ट्राफिक सर्भेलेन्स ड्रोन र अटोमेटेड प्रणालीको प्रयोगबाट नियम तोड्नेहरूलाई तुरुन्त कारबाही गर्न सकिन्छ । प्रविधिको सहायताले ट्राफिक नियम उल्लंघन गर्नेलाई सजिलै ट्रयाक गर्न सकिन्छ र जरिवाना प्रणाली पनि पारदर्शी बनाउन सकिन्छ ।

पार्किङ व्यवस्थापन पनि ट्राफिक व्यवस्थापनको महत्वपूर्ण पाटो हो । सहरी क्षेत्रमा सडक छेउको अव्यवस्थित पार्किङले ट्राफिकलाई अवरोध पु¥याउँछ । पार्किङका लागि निश्चित ठाउँहरूको व्यवस्था गर्नु, सार्वजनिक भवनहरू वा मलहरूलाई भूमिगत पार्किङ निर्माण गर्न बाध्य बनाउनु, र सवारी पार्किङको लागि शुल्क प्रणाली लागू गर्नु जरुरी छ । ‘स्मार्ट पार्किङ’ प्रणाली जसमा चालकले मोबाइल एपमार्फत नजिकको खाली पार्किङ स्पेस पहिचान गर्न सक्नेछन्, यस्ता उपायबाट पार्किङ समस्या न्यूनीकरण हुन सक्छ ।

पैदल यात्रुहरूको सुरक्षाका लागि पनि विशेष ध्यान दिनुपर्छ । फुटपाथको व्यवस्था, जेब्राक्रसिङ, पैदल आकाशे पुल, अपाङ्गमैत्री यातायात पूर्वाधार निर्माणले गर्दा शहर हिँड्न मिल्ने हुन्छ । यदि हिँड्न सहज बनाइयो भने छोटो दूरीको लागि सवारी प्रयोगको आवश्यकता कम हुनसक्छ, जसले ट्राफिकलाई घटाउँछ ।

अर्को महत्वपूर्ण पक्ष हो जनचेतना । ट्राफिक व्यवस्थापनको दीर्घकालीन सफलता नागरिकको सहभागिताबिना सम्भव छैन । स्कुल तहदेखि नै ट्राफिक शिक्षालाई पाठ्यक्रममा समावेश गर्नुपर्छ, रेडियो, टेलिभिजन, सामाजिक सञ्जालमार्फत सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ । साथै, ट्राफिक प्रहरी र नगरपालिकाबीच समन्वय बढाई विभिन्न सचेतना अभियान तथा सामुदायिक सहभागितासहितका कार्यक्रमहरू सञ्चालन गर्न सकिन्छ ।

अन्त्यमा, ट्राफिक व्यवस्थापनलाई केवल प्रहरीले ट्राफिक चलाउने काम मात्र ठान्नुभन्दा पनि, यो शहरी योजना, पूर्वाधार विकास, प्रविधिको प्रयोग, जनचेतना र सार्वजनिक सेवाको सुधारसँग जोडिएको समग्र प्रक्रिया हो भन्ने बुझ्नु आवश्यक छ । सरकार, स्थानीय तह, निजी क्षेत्र तथा आम नागरिक सबैको सहकार्य र उत्तरदायित्वको भावना आवश्यक छ, ताकि शहर केवल हिँड्न वा गाडी चलाउन सहज मात्रै नभई बस्न योग्य, दिगो र मानवमैत्री बन्दै जाओस् ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर