२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

कतारमा गाउँको झझल्को दिने तिज कार्यक्रम सम्पन्न

Nada
तिलु शर्मा पौडेल
२०८२ भदौ १० गते १७:५९
Shares
कतारमा गाउँको झझल्को दिने तिज कार्यक्रम सम्पन्न

दोहा, कतार : कतारमा गाउँको झल्को दिने दर खुवाउने तथा सांगीतिक कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश समन्वय परिषद्ले आफू मातहतका जिल्लाहरूसँग मिलेर आयोजना गरेको 'आन्तरिक भेटघाट एवं दर खुवाउने कार्यक्रम'मा गाउँको झल्को देखिएको थियो । विभिन्न शैलीमा नाचगान गरेर रमाइलो गर्ने प्रचलन रहे पनि परिषद्ले सोमबार साँझ आयोजना गरेको दर कार्यक्रम विशुद्ध अर्गानिक तथा परम्परागत थियो ।

ncell

परिषद्ले फूलबारी रेस्टुरेन्टको सभा हलमा बीचमा बसेर पलेटी कसेर गीत गाउने बन्दोबस्त मिलाएपछि गायिका तारा बिसीले 'परदेशको ठाउँमा आमा, नआए नि हुन्थ्यो तिज पनि' भनेर गीत गाउन पलेटी कसिन् । बिसीले गाउन थालेलगत्तै परिषद्का उपाध्यक्ष कल्याण थापाले लमजुङका साहित्यकार सिताराम थापाले लेखेको तिज गीत गाउन अनुरोध गरेपछि “सुन्नु होला दिदी बहिनी, सुन्नु होला दाजु भाइ, परदेशी छोरीको व्यथा बरि लै' भन्दै गाउन सुरु गरिन् । कलिलै उमेरमा विवाह भए पनि श्रीमानले अर्की श्रीमती भित्र्याएपछि छोराछोरी पाल्नकै लागि आजाद भिसामा विदेश विदेश जान बाध्य आमाको कथा गीतले बोलेपछि बिसीले आफ्नो जीवनसँग मेल खाएको बताइन् । आफू दलालको मिठो बोलीमा परेर कथित आजाद भिसामा कतार आएको उनले गीत गाउने क्रममा बताइन् ।

पछिल्लो समय तिजका गीत युट्युबमा भ्युज र चर्चाका लागि तथा कार्यक्रममा तडक भडक देखाएर मनाउने गरिए पनि परिषद्को कार्यक्रममा गाइएको उक्त गीतले तिज महिलाहरूको दु:ख बिसाउने पर्व हो भन्ने पुष्टि गरेको थियो । कार्यक्रम परिषद् कतारका संस्थापक अध्यक्ष आश बहादुर गुरुङको प्रमुख आतिथ्यता तथा परिषद्का अध्यक्ष नन्दलाल बिक (अजय) को सभाध्यक्षतामा सम्पन्न भएको थियो । उपस्थित सबैलाई स्वादिष्ट दर खुवाउँदै सांगीतिक माहोलका बीचमा सम्पन्न कार्यक्रममा सुधा परियारले स्वागत नृत्य राखेकी थिइन् भने महासचिव मन प्रसाद राना मगरले कार्यक्रमको सहजीकरण गरेका थिए ।

तिजको महत्त्व

तिज पारम्परिक, सांस्कृतिक, सामाजिक तथा धार्मिक महत्त्व बोकेको पर्व हो । हरित र आलिका मिलेर हरितालिका बनेको हो । जसमा हरित भनेको हरण गरेर र आलिका भनेको सखीहरू भन्ने हुन्छ । अर्थात् सखीहरूबाट हरेर महादेवलाई पाउनको लागि पार्वतीले तपस्या गर्दा सफल भएकोले तिज पर्वलाई हरितालिका तिज भनिन्छ । हिन्दु धार्मिक ग्रन्थअनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान् विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् ।

पार्वतीले घोर तपस्या गर्दा पनि फल नपाउँदा एक दिन उनले शिवलिङ्गको स्थापना गरी पानी पनि नपिई निराहार व्रत बसिन् । यसरी पार्वतीको कठोर बर्तको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशीर्वाद दिएपछि शिव र पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथिदेखि हिन्दु नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थालेका हुन् । यद्यपि तिज यही बेलादेखि सुरु भएको भन्ने ठ्याक्कै मिति निर्धारण त गर्न सकिँदैन तैपनि यो भारत वर्ष विशेष गरी उत्तर भारत एवं नेपालमा पौराणिक कालदेखि नै चलिआएको बुझ्न सकिन्छ ।

ताजा खबर

सम्बन्धित खबर