ललितपुर : नेपाल पत्रकार महासंघ, ललितपुर शाखाले हीरा–सिद्धि क्रियाशिल पत्रकारिता पुरस्कारको घोषणा गरेको छ ।
शनिबार नेपाल पत्रकार महासंंघ ललितपुर शाखाको कार्यमूलक बैठकले एक कार्यक्रमकाबीच पाँच लाख रुपैयाँको अक्षयकोषसहित पुरस्कारको घोषणा गरेको हो । सो राशी बराबरको अक्षयकोष ललितपुर जिल्लाका समाजसेवी सिद्धिबहादुर महर्जनले उनकी स्वर्गीय धर्मपत्नी हिराकुमारी महर्जनको स्मृतिमा महासंघ शाखालाई हस्तान्तरण गरेका हुन् ।
अक्षयकोष घोषणा एवं हस्तान्तरण कार्यक्रममा समाजसेवी महर्जन र महासंघ शाखाका तर्फबाट अध्यक्ष रामहरि कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
अक्षयकोषको घोषणा एवं हस्तान्तरण गर्दै समाजसेवी महर्जन परिवारले आम जनतालाई सूसुचित गर्ने सञ्चारकर्मी एवं पत्रकारको हकहित र प्रोत्साहन निम्ति सहयोग गर्न पाउँदा गौरवान्वित भएको बताएका छन् ।
त्यस्तै अक्षयकोष घोषणा कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार प्रभुनारायण बस्नेतले महर्जन परिवारले उल्लेखनीय काम गरेको भन्दै उच्च प्रशंसा गरेका छन् । बस्नेतले भने, ‘यस पुरस्कारले पत्रकारहरुलाई निष्पक्ष र निर्भिक ढंगबाट कलम चलाउन प्रोत्साहन मिल्ने छ ।’
त्यस्तै कार्यक्रममा बोल्दै शाखाका सल्लाहकार तथा पूर्व अध्यक्ष ज्ञानप्रसाद पौडेलले आफूले नेतृत्व गरेको शाखामा यस्ता किसिमका सकरात्मक पहल हुदाँ गौरव गरेको प्रतिक्रिया दिएका छन् ।
त्यस्तै नेपाल पत्रकार महासंघका उपत्यका प्रदेश समितिका अध्यक्ष टेनिस रोकाले उपत्यकाका तीन जिल्लामध्ये ललितपुर शाखा बढी क्रियाशिल रही पत्रकारको हकहितमा काम गर्न सफल भएको बताएका छन् ।
त्यस्तै शाखाका अध्यक्ष कार्कीले हीरा–सिद्धि पुरस्कार शाखाको हरेक वार्षिक साधारण सभामा जिल्लामा क्रियाशिल दुई जना पत्रकारहरुलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिने जानकारी दिए । उनले भने, ‘यो पुरस्कार स्थानीय सरोकार वा धर्म, संस्कृति, कलामा कलम चलाउने क्रियाशिल पत्रकारलाई प्रदान गरिनेछ ।’ अक्षयकोषमा प्राप्त भएको रकमको ब्याजबाट पुरस्कार प्रदान गरिने उनको भनाइ छ ।
रकम हस्तान्तरणसँगै अक्षयकोष कार्यान्वयनमा आएको शाखा सचिव दीपक अर्यालले बताए । कार्यक्रममा स्वर्गिय हीराकुमारी महर्जनकी छोराहरु प्रेम सिंह महर्जन र सरोज डंगोलको पनि उपस्थिति रहेको थियो ।