सिन्धुली : सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका २ मा निर्माणाधीन १५ शय्याको अस्पताल भवन २ वर्षमा सम्पन्न गर्ने सम्झौता भएपनि हालसम्म ३० प्रतिशत मात्र काम सम्पन्न भएको छ । निर्माण कम्पन्नी सिनर्जी–राजदेवी भक्त–आर.पी जेभी, चन्द्रपुर रौतहटले २०७९ असोज ७ गते एक वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो ।
सम्झौता अनुसार २०८१ असोज ६ गते सम्पन्न हुनुपर्ने थियो । तर, उक्त समयभित्र ठेकेदारले काम सम्पन्न नगरेपछि गत वर्ष २०८२ भदौ ३० गतेसम्मको म्याद थप गरिएको इन्जिनियर श्रेष्ठको भनाइ छ ।
आयोजनाले उपलब्ध गराएको विवरणअनुसार हालसम्म अस्पताल निर्माणमा भौतिक र आर्थिक दुवैतर्फको प्रगति ३० प्रतिशतमा सीमित भएको हरिहरपुरगढी गाउँपालिका इन्जिनियर बेन्जामिन श्रेष्ठ वताए ।
बाँकी दुई महिना अर्थात् आगामी भदौ मसान्तसम्ममा बाँकी ७० प्रतिशत काम हुने कुनै सम्भावना नदेखिएको इन्जिनियर श्रेष्ठले बताए ।
थपिएको सो समयमा पनि निर्माण व्यवसायीले गाउँपालिकालाई बुझाएको कार्यतालिका अनुसार काम नभई निकै ढिलासुस्ती गरिएको इन्जिनियर श्रेष्ठले बताए । यस्तै सुस्त गतिमा काम भए चालु आर्थिक वर्षमा विनियोजित बजेट फ्रिज हुने देखिन्छ ।
ठेकेदार कम्पनीले एक वर्ष भन्दा बढी काम गरेका कामदारलाई ज्याला नदिएको स्थानीय चन्द्रबहादुर राईले गुनासो गरे । ज्याला नदिएको कारण कामदारहरु काम गर्न जान मान्दैनन् ।
बाहिरबाट आएका कामदार पनि ज्याला नपाउने थाहा पाएपछि छोडेर जाने गरेको उनले बताए । ठेकेदारले भने कामदारनै नपाएको कारण काम ढिलासुस्ती भएको बताउने गर्छन् ।
अस्पताल निर्माणका लागि २१ करोड ८१ लाख ९० हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । जसमध्ये हालसम्म ६ करोड ६५ लाख ७१ हजार रुपैयाँ ठेकेदारले भुक्तानी लिइसकेको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ मा संघीय सरकार र गाउँपालिकाबाट गरी कूल ९ करोड ३१ लाख रुपैयाँ बजेट विनियोजन भइ कार्यान्वयनमा रहेको छ । तर, ठेकेदारले काम नगरेका कारण उक्त बजेट फ्रिज हुने अवस्थामा पुगेको गाउँपालिकाले जनाएको छ । चालु आर्थिक वर्षको बजेटबाट हालसम्म २ करोड ३६ लाख १६ हजार रुपैयाँको मात्र विल पेस भएको गाउँपालिकाले जनाएको छ ।
चालु आर्थिक वर्षमा विनियोजित बजेटमा संघीय सरकारको ८ करोड ३१ लाख रुपैयाँ रहेको छ । यसैगरी हरिहरपुरगढी गाउँपालिकाले १ करोड रुपैयाँ विनियोजन गरेको छ ।
गाउँपालिकाको बजेटमा ६३ लाख रुपैयाँ राजस्व बाँडफाँड–स्थानीय–नगद र ३७ लाख रुपैयाँ आन्तरिक स्रोततर्फको रहेको गाउँपालिकाले जनाएको छ ।