२०८२ जेठ २२ गते बिहिवार / Jun 05 , 2025 , Thursday
२०८२ जेठ २२ गते बिहिवार
Ads

ताहाचलमा श्रम स्वीकृति लिन बिचौलियाका २ रेट

२०८२ जेठ २० गते ०६:२०
ताहाचलमा श्रम स्वीकृति लिन बिचौलियाका २ रेट

काठमाडौं : गत शुक्रबार अपराह्न एक अधबैंसे महिला पसिना पुछ्दै वैदेशिक रोजगार विभाग ताहाचलबाट फुत्त बाहिर निस्किइन् । श्रम काउन्टर सञ्चालन गरेका एक जनाले आफ्नै सहोदर भाइ सरहको लवजमा बोलाए ‘ए दिदी ! दिदी ! यता’ भन्दै बस्नलाई कुर्सी टक्र्याए । साथमा पानीको बोतलपनि टक्र्याए ।

पहिलोपटक श्रम स्वीकृति बिना भिजिट भिसामा वैदेशिक रोजगारमा गएकी उनी विभागमा पुनः श्रम स्वीकृतिका लागि आएकी थिइन् । तर औंठाछापलगायतका प्रक्रिया अनलाइनमा नभएका कारण उनको श्रम स्वीकृति भएन । विभागका कर्मचारीले बाहिर गएर अनलाइन गरेर आउन  सुझाव दिएपछि उनी बाहिर आएकी थिइन् ।

बाहिर आउनासाथ दिदीको नाता जोडेका श्रम काउन्टरका भाइले उनलाई पुनः श्रम स्वीकृतिका लागि लाग्ने शुल्कका दुई वटा रेट देखाए । बीमा, सामाजिक सुरक्षा कोष, वैदेशिक रोजगार बोर्डलगायतका शुल्क क्यालकुलेटर थिचेपछि ती भाइले भने, ‘तपाईं ओरियनेटेशन क्लासमा बस्नुहुन्छ भने १३ हजार २ सय र बस्नु हुन्न भने १३ हजार ८ सय ।’

श्रम गराउन आएकी दिदीले सोधिन्– ‘क्लासमा नबसे किन ६ सय बढी ?’ उनले जवाफ दिए, ‘तपाईं क्लासमा नबसे हाम्रा मान्छे बसाउनुपर्छ, त्यसैले ।’ उनले एकैछिन सोचेपछि पुनः सोधिन्, ‘१३ हजार ८ सय तिरेपछि आजै मेरो काम हुन्छ ?’ जवाफमा ती भाइले भने, ‘म मिलाउँछु ।’

वैदेशिक रोजगार विभागले लापरबाही र अनियमितता भएको चर्को गुनासोपछि गत माघदेखि वैदेशिक रोजगारमा जाने कामदारलाई अनिवार्यरूपमा कक्षा कोठामा उपस्थित गराइ विद्युतीय हाजिरी गराएर अनिवार्य अभिमुखीकरण तालिम दिने व्यवस्था गरेको छ । पछि देशगत समूहमा अभिमुखीकरण तालिम गराउन निर्देशन पनि दिएको छ । विभागले गत माघदेखि लागू गरेको फेसटाइम एटेन्डेन्ट, आँखाको रेटिना रेकर्ड गर्ने आइरिस रेकग्निसन सिष्टमले सजिलोसँग काम गरेपछि तालिमलाई अनिवार्य र प्रमाणित गराउन देशगत कलष्टर लागू गरेको हो ।

आइरिस लागू भएसँगै वैदेशिक रोजगारीमा जाने व्यक्ति अनिवार्यरूपमा पूर्वप्रस्थान अभिमुखीकरण तालिम कक्षमा उपस्थित हुने गरेको विभागका निर्देशक लोकनाथ भूसालले त्यतिखेर नै विज्ञप्तिमार्फत बताएका थिए । उनले देशगत कलष्टर लागू गर्ने सम्बन्धमा तीन बुँदे निर्देशन नै जारी गरेका थिए । तर शुक्रबार देखिएको घटनाले ओरियन्टेशनमा अनिवार्य उपस्थिति सोझा र निमुखाका लागि मात्रै भएको देखिएको छ ।

अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष राजाराम गौतामले विभागको प्रणालीलाई राष्ट्रिय परिचयपत्र प्रणालीसँग नजोडेको र डिजिटल अनुगमन नगरिएका कारण यस प्रकारका विकृति देखिएको बताए । उनले कतिपय व्यक्तिले सिष्टममा जडान भएको रेटिना सफ्टवेयरमार्फत डाउनलोड गराएर आफूखुशी प्रयोगमा ल्याउने गरेको समेत सुनिएको भन्दै तत्कालै विभागको प्रणालीलाई राष्ट्रिय परिचयपत्र प्रणालीसँग जोडेर डिजिटल प्रणालीबाट अनुगमन गर्नुपर्ने माग गरे ।

विभागमा नयाँ महानिर्देशकमा कमलप्रसाद भट्टराई आएपछिको दोस्रो हप्तामै पत्रकार सम्मेलन गरेर प्रविधिको माध्यमबाट वैदेशिक रोजगार प्रशासनलाई पूर्णरूपमा विश्वसनीय बनाउने प्रतिबद्धता नै जनाएका थिए । तर श्रम काउन्टर सञ्चालकहरूले अभिमुखीकरण तालिममा सम्बन्धित व्यक्ति उपस्थित भएपनि श्रम स्वीकृति मिलाउने भन्दै मोलमोलाई गरेको घटनाले श्रम काउन्टरका बिचौलिया अघिअघि र विभागका कर्मचारी  पछिपछिको अवस्था देखिएको धेरैले टिप्पणी गरेका छन् ।

ADV

सम्बन्धित खबर