काठमाडौं : युरोपेली मुलुक बुल्गेरियाले यस वर्ष अर्थात सन् २०२५ मा ५० हजार विदेशी कामदार लिने बताएको छ । दक्षिणपूर्वी युरोपेली मुलुक बुल्गेरियाका सबै क्षेत्रहरूमा गम्भीर श्रम शक्तिको अभाव झेलिरहेको छ । जसले पर्यटन उद्योग सबैभन्दा बढी प्रभावित भएको बताइएको छ ।
बुल्गेरियाले ५० हजार विदेशी कामदार भर्ना नगरे पर्यटन उद्योग समस्यामा पर्ने विज्ञहरूले चेतावनी दिएका छन् । बुल्गेरियामा हाल विदेशी श्रमिकको अभाव पर्यटनमा मात्र नभएर निर्माण, यातायात र स्वास्थ्य सेवाले पनि झेल्नुपरेको बताइएको छ ।
वृद्ध जनसंख्या, मुलुकको श्रम जनशक्ति पश्चिमी युरोपमा बसाइँसराइ गर्नु मौसमी वा म्यानुअल कामहरूमा स्थानीय घरेलु कामदारको अरुची जस्ता कारणले बुल्गेरियाली कम्पनीहरूमा कम–दक्ष र उच्च–दक्ष दुवै क्षेत्रमा विदेशी कामदार माग बढिरहेको बताइएको छ ।
बुल्गेरियामा हाल नेपालसहित टर्की, उज्बेकिस्तान, कीर्गिस्तान र मोल्डोभाबाट धेरै कामदार गएका छन् । त्यसमध्ये उनीहरू सेवा, यातायात र निर्माण क्षेत्रमा कार्यरत छन् भने चाँडै नै थप क्षेत्रहरू खुल्ने अपेक्षा गरिएको छ ।
विदेशी कामदारको बढ्दो आवश्यकताको बाबजुद भर्ना गर्ने प्रक्रियामा रहेकोे ढिलाइले कागजी पूरा गरेर विदेशी कामदार लैजान ६ देखि ९ महिना लाग्न सक्ने बताइन्छ ।
बुल्गेरियामा ठूला उद्योगहरूलाई कुल कर्मचारीको २० प्रतिशतसम्म तथा साना र मध्यम आकारका उद्योगहरूलाई कुल कर्मचारीको ३५ प्रतिशतसम्म विदेशी कामदार भर्ना गर्न पाउने छुट रहेको छ ।
बढ्दो श्रम अभावलाई सम्बोधन गर्ने तरिकाहरू खोज्दै गर्दा निकट भविष्यमा सरकारले यी प्रतिबन्धहरू पुनःमूल्यांकन गरी थप विदेशी कामदार ल्याउन अनुमति दिन सक्ने स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।