– युवराज न्यौपाने
नयाँ पुस्ता अर्थात् अहिलेको युवापुस्ता— राजनीतिप्रति गहिरो चासो राख्ने तर, निराशा र वितृष्णा पनि महसुस गर्ने एउटा फरक पुस्ता हो । उनीहरू न त अन्धभक्त हुन्, न नै राजनीतिक बेफिक्री गर्ने केवल दर्शक । बरू उनीहरू परिवर्तन चाहन्छन्, आशावादी छन्, सँगै अनुभवले सचेत पनि । आजको युवा शिक्षित छ, प्रविधिमा अब्बल छ, सामाजिक सञ्जालबाट सूचित छ र लोकतन्त्रको मूल्यलाई बुझ्ने क्षमतावान पनि । यही पृष्ठभूमिमा हेर्दा, नयाँ पुस्ताले खोजेको राजनीति केवल कुर्सीकै लागि गरिने खेल नभई भविष्य निर्माणको यात्राको सारथी हो ।
सबैभन्दा पहिला, नयाँ पुस्ता पारदर्शी र जवाफदेही राजनीति चाहन्छ । उनीहरूका लागि अब ‘भोट माग्दा मीठा भाषण र जितेपछि बेपत्ता हुने’ शैली स्वीकार्य छैन । कुनै नेताले के भने, किन भने र बोलेको अनुसार काम ग¥यो कि गरेन भन्ने कुरा मूल्यांकन गर्ने बानी उनीहरूमा छ । सायद अघिल्लो पुस्ताले नेताको बोलीलाई भाग्य ठानेर स्वीकार ग¥यो होला, तर नयाँ पुस्ता त्यसको समीक्षा गर्छ, आलोचना गर्छ र उत्तर खोज्छ । तसर्थ, उनीहरूका लागि जवाफदेहिता नभएको राजनीतिले अर्थ राख्दैन ।
नयाँ पुस्ताले विचारधाराभन्दा बढी कार्यक्षमता र परिणाममुखी नेतृत्व खोज्छ । सत्ताको खेलमा जस्को सरकार बन्यो, त्यसले पार्टीका लागि होइन, जनताको लागि काम गर्नुपर्छ भन्ने अपेक्षा उनीहरू राख्छन् । ‘हाम्रो सरकार’ होइन ‘सक्षम सरकार’ भन्ने सोच राख्ने यो पुस्ताले राजनीतिक दलभन्दा अगाडि देश राख्ने नारा उठाउँछ । उनीहरू सिंगापुर, फिनल्याण्ड वा नर्वे जस्ता मुलुकका उदाहरण दिँदै सोध्छन्— किन हामीले पनि त्यसरी प्रगति गर्न सक्दैनौं ? अनि उत्तर खोज्छन्— के हामीसँग संकल्प छैन, कि नेतृत्व नै कमजोर छ ?
युवापुस्ता समावेशी र समानतामूलक समाजको पक्षमा उभिन्छ । अब राजनीति केवल केही जात, वर्ग वा ठूला शहरमा सीमित हुनु हुँदैन भन्ने सोच उनीहरूमा बलियो छ । महिलाहरूको सहभागिता, दलित र सीमान्तकृत समुदायको प्रतिनिधित्व तथा ग्रामीण क्षेत्रका समस्याहरूलाई प्राथमिकता दिने राजनीति उनीहरूलाई मन पर्छ । नयाँ पुस्ताले नेतृत्वमा विविधता देख्न चाहन्छ, किनभने उनीहरूको अनुभवले भन्छ— विविधताले मात्र सबैको आवाज समेटिन्छ ।
यो पुस्ताले ‘नेता’लाई भगवान् ठान्दैन, बरू ‘सेवक’ ठान्नुपर्छ भन्ने धारणा राख्छ । उनीहरूको लागि नेता भनेको जनताको काम गर्ने जिम्मेवार व्यक्ति हो, जसले असल प्रशासन, पारदर्शी नीति र जनमुखी विकास सुनिश्चित गर्छ । सत्तामा पुगेर जनतालाई बिर्सने, सिफारिस र पहुँचका आधारमा अवसर बाँड्ने वा आफ्ना नातागोता र पार्टीजनलाई प्राथमिकता दिने व्यवहारलाई उनीहरूले अस्वीकार गर्छन् ।
नयाँ पुस्ताले प्रविधिमैत्री, वातावरणमैत्री र भविष्यमुखी राजनीति खोज्छ । जलवायु परिवर्तन, शिक्षा सुधार, रोजगारी सिर्जना र उद्यमशीलता जस्ता विषय उनीहरूका लागि प्राथमिक छन् । पुराना राजनीतिक एजेन्डा जस्तै सडक, पुल वा भवन निर्माण मात्रै होइन, उनीहरू ग्रीन इनर्जी, डिजिटल इकोनोमी, स्टार्टअप इकोसिस्टम र नवप्रवर्तनमूलक सोचलाई प्राथमिकता दिनुपर्ने तर्क गर्छन् । उनीहरूको लागि २१औँ शताब्दीको राजनीति भनेको केवल भौतिक संरचना बनाउने मात्र नभई मानव क्षमता विकास गर्ने राजनीति हो ।
यसैगरी, नयाँ पुस्ता अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने नेतृत्व खोज्छ । उनीहरूलाई थाहा छ— नेपाल जति सानो भए पनि विश्वसँग जुध्नैपर्ने छ । प्रवासमा रहेका लाखौं नेपाली युवाहरूका सपना, देशप्रतिको लगाव र योगदानलाई व्यवस्थापन गर्न सक्ने खालको रणनीति खोज्छन् उनीहरू । कूटनीतिमा विवेक, परराष्ट्र नीतिमा सन्तुलन र छिमेकीहरूसँग समानताको आधारमा सम्बन्ध राख्ने राजनीतिक क्षमता उनीहरूले नेतृत्वमा हेर्न चाहन्छन् ।
नयाँ पुस्ता सहकार्य र सहिष्णुताको पक्षमा उभिएको देखिन्छ । राजनीतिक विरोधलाई व्यक्तिगत द्वेष होइन, नीतिगत बहसका रूपमा लिनुपर्ने उनीहरूको विश्वास छ । नेताहरूले संसदमा एक अर्कालाई गाली गर्ने होइन, समाधान प्रस्तुत गर्नुपर्ने अपेक्षा उनीहरू राख्छन् । एउटै उद्देश्य— देशको प्रगतिमा भिन्न दृष्टिकोणसहित मिलेर काम गर्न सक्ने संस्कार राजनीतिक नेतृत्वमा चाहन्छन् ।
आर्थिक पारदर्शिता, भ्रष्टाचारविरूद्ध कडा ऐक्यबद्धता अनि राजनीतिक निर्णयहरूमा वैज्ञानिक आधार र जनसरोकारलाई प्राथमिकता दिनु आजको युवाको चाहना हो । बजेट घोषणामा युवाहरू अब सजग छन्, के यो चुनाव लक्षित हो ? के यसले रोजगारी सिर्जना गर्छ ? कि केवल सस्तो लोकप्रियताको खेल हो ? अनि सामाजिक सञ्जालबाट उनीहरू यस्ता कुराको निगरानी गर्छन्, आलोचना गर्छन् र आवाज उठाउँछन् ।
शिक्षा र राजनीतिबीचको सम्बन्ध पनि नयाँ पुस्ताको दृष्टिकोणमा गहिरो छ । शिक्षाले चेतना दिन्छ र चेतनाले राजनीति परिवर्तन गर्छ भन्ने उनीहरूको विश्वास छ । तर जब शिक्षित युवा राजनीतिमा लाग्न खोज्छ, उसलाई ‘कच्चा’ भन्दै टारिन्छ, या त स्थापित सत्ताका खेलमा गाभ्न खोजिन्छ । नयाँ पुस्ताले स्वतन्त्र सोच राख्ने, नीति निर्माणमा संलग्न हुन चाहने र राजनीतिलाई पेशागत ढंगमा अगाडि बढाउने सोच राख्ने नेताहरू चाहन्छ ।
यसबाहेक, नेतृत्वमा आउने व्यक्तिको जीवनशैली, भाषा, आचरण र मूल्य–मान्यतालाई पनि नयाँ पुस्ताले बारम्बार मूल्यांकन गर्छ । भ्रष्टाचारमा संलग्न, हिंस्रक भाषामा बोल्ने वा अरूलाई होच्याउने प्रवृत्ति भएका नेताहरूलाई अस्वीकार गर्ने संस्कार उनीहरूमा विकास भएको छ । सायद यसकारण पनि अहिलेका राजनीतिक दलहरू युवाहरूलाई आकर्षित गर्न हम्मेहम्मे परेको छ ।
नयाँ पुस्ता उही पुराना अनुहारहरूको निरन्तरता होइन, नयाँ सोच, नयाँ अभ्यास र नयाँ नेतृत्व खोज्दैछ । उनीहरू असल नेतृत्वलाई दलको सीमाभन्दा बाहिर गएर पनि समर्थन गर्न तयार छन् । उनीहरूको लागि राजनीति केवल चुनाव जित्ने खेल होइन, जनसेवा गर्ने माध्यम हो ।
निष्कर्षमा, नयाँ पुस्ताको खोजी केवल नेताको नाम फेर्ने होइन, नेतृत्वको चरित्र परिवर्तन गर्ने हो । उनीहरूले खोजेको राजनीति निष्पक्ष, दूरदर्शी, सहभागी, पारदर्शी, उत्तरदायी र जनमुखी हुनुपर्छ । यदि नयाँ पुस्ताको आवाजलाई सुन्ने साहस वर्तमान नेतृत्वमा छैन भने नयाँ पुस्ताले आफैं राजनीति प्रवेश गरेर अवस्था परिवर्तन गर्न पनि पछि हट्दैन । किनकि अबको राजनीति केवल सिंहदरबारको कोठाभित्र सीमित रहने छैन— यो टोल–छिमेक, क्याम्पस, इन्टरनेट र चियापसलसम्म आइपुगेको छ । यही परिवर्तनको वेगलाई चिन्न नसक्ने नेतृत्वको दिन अब गनिँदै गएको छ ।