काठमाडौं : वैदेशिक रोजगारीमा बेलायत र क्रोएसिया पठाइदिने प्रलोभनमा पारेर ८ लाख रुपैयाँ ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले वैदेशिक रोजगार ठगीको उजुरीका आधारमा कञ्चनपुर पुनर्बास स्थायी ठेगाना भइ हाल काठमाडौं बस्ने एलिया तामाङ र दोलखा बैतेश्वर स्थायी ठेगाना भइ काठमाडौं बस्ने कृष्णकुमार घिमिरेलाई मंगलबार पक्राउ गरेको हो ।
घिमिरेले क्रोएसिया पठाइदिन्छु भन्दै २ लाख रुपैयाँ र तामाङले बेलायत पठाइदिने भन्दै ६ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको पीडितले जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा उनीहरुलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बताएको छ ।
उनीहरू दुवै जनालाई वैदेशिक रोजगार ऐन अन्तर्गत थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले बताएको छ ।