दाङ : दङ्गीशरण गाउँपालिका–६ बागरकी जया चौधरीलाई एक वर्षअघिसम्म गाउँको साझा इनारमा पानीका लागि लाइन बस्नुपर्ने बाध्यता थियो । चैत, वैशाखको खडेरीमा इनार सुकेपछि बिहान ४ बजेदेखि लाइनमा बसेर दुईवटा गाग्रीमा पानी एकैपटक ल्याउनुपर्ने बाध्यता उनलाई अझै स्मरण छ ।
घरछेउमा बनेको ट्याङ्कीबाट घरघरमा पानी आउन थालेपछि चौधरीको दैनिकी अहिले फेरिएको छ । सहज रूपमा खानेपानी पाउन थालेपछि दैनिकी सहज बनेको भन्दै उहाँले खुसी व्यक्त गर्छिन् । “धाराको पानी प्रयोग गर्न थालेपछि समयको बचत भएको छ । करेसाबारीमा तरकारीखेती गरेर घरमा खान पुग्ने उत्पादन भइरहेको छ”, उनले भनिन् ।
सोही ठाउँकी बुधनी चौधरीले घरको आँगनमा खानेपानीको धारा निर्माण भएपछि दैनिक उपभोग गर्न र गाईवस्तुलाई खुवाउन सजिलो भएको बताइन् । ‘एक घर, एक धारा’ अभियानअन्तर्गत एक वर्षअघि खानेपानी योजना निर्माण सम्पन्न भएपछि गाृँका घरघरमा पानीको सुविधा पुगेको हो ।
बुधनीले भनिन्, “खानेपानीका लागि गाउँभरिमा एउटा इनार थियो, पानी थाप्दा कहिलेकाहीँ त तछाडमछाड भएर झगडा हुन्थ्यो । घरमा नयाँ धारा बनेसँगै अब यो समस्या सधैँलाई समाधान भएको छ । गर्मी मौसममा खानेपानीको मुहान सुक्ने र खानेपानीका लागि गाग्री बोकेर खोलाखोला हिँड्नुपर्ने सास्ती हटेको छ ।”
दङ्गीशरण–६ बागर खानेपानी उपभोक्ता समितिका अध्यक्ष रेशम वलीले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको सहयोग र स्थानीयको जनसहभागितामा बोरिङ खनेर पाइप विस्तार गरी घरघरमा पानी वितरण भइरहेको जानकारी दिए । दैनिक दुई घण्टा पानी वितरण गर्दै आइएको भन्दै उनले पानी भण्डारण गर्ने ट्याङकी नहुँदा केही समस्या भएको बताए ।
“दुई सय परिवारले पानीका लागि निवेदन दर्ता गरेका छन्, अहिले एक सय ८६ परिवारले सुविधा लिइरहेका छन् भने अरु प्रक्रियामा छन् । मिटर जडान नगरिएकाले मासिक रु दुई सय उपभोक्ताले महसुल तिर्ने गरेका छन्”, अध्यक्ष वलीले भने ।
दङ्गीशरण–६ का वडाध्यक्ष रोशनजङ्ग शाहले बोरिङ पाइपमार्फत वडावासीलाई पानीको सुविधा पुर्याइएको बताए । “चुनावमा एक घर एक धारा दिने भनी मत मागेका थियौँ, सोहीअनुरुप पानी पुर्याउन थालेका छौँ, पानीको सुविधा पुगे पनि पूर्वाधार नहुँदा समस्या भएको छ । पानीको ट्याङ्की छैन, पानी भण्डारणका समस्या छ”, उनले भने ।
सङ्घ र प्रदेश सरकारले संरचना निर्माणमा सहयोग गरेमा स्थानीय सरकारलाई केही सहयोग हुने वडाध्यक्ष शाहको भनाइ छ । स्थानीय सरकारसँग पर्याप्त बजेट नहुँदा काम गर्न समस्या भइरहेको भन्दै उनले सङ्घीय र प्रदेश सरकारले सहयोग गर्न आग्रह गरे ।
खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख तिलक न्यौपानेले खानेपानी मानिसको पहिलो आवश्यकता भएकाले सबै नागरिकलाई सहज पानी पुर्याउने पहल गरिएको बताए । “केही खानेपानी आयोजना स्थानीय तहसँग सहकार्य गरेर अगाडि बढाइएको र केहीमा बजेट अभावका कारण समयमा काम हुन सकेको छैन”, उनले भने ।
बहुवर्षीय योजना निर्माणमा बढी समय, जनशक्ति लाग्ने भएकाले तत्काल सबैलाई पानी पुर्याउन नसकिएको न्यौपानेले बताउनुभयो । ‘एक घर, एक धारा’ कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्दै सबैलाई स्वच्छ पानी पुर्याउने लक्ष्यसहित अघि बढेको उनको भनाइ छ ।