विपक्षमा रहेका नेताहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्न थालेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बक्तव्य जारी गरेरै गृहमन्त्री लेखकको राजीनामा मागेका छन् । विपक्षमा रहेका दल र सार्वजनिक क्षेत्रबाट पनि उनको राजीनामा मागिदैछ । गृहमन्त्री लेखकले भने यसबारे संसद्मा बोल्ने बताएका छन् । गृह मन्त्रालयले शनिबार बक्तव्य मार्फत् त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमन विभागमा भएको प्रकरणमा नेतृत्वको कुनै संलग्नता नरहेको जनाएको छ । घुस लिएर भिजिट भिषामा नेपालीहरु विभिन्न देशमा पठाइने गरेको सूचनाका आधारमा तत्कालीन अध्यागमन प्रमुख तीर्थराज भट्टराई पक्राउ परेका थिए । अख्तियार दुरुपयोग अनुसन्धानले भट्टराई सहित अध्यागमनका कर्मचारीहरुले घुस लिएर भिजिट भिषामा पठाइने गरेको मुद्दामा अनुसन्धान गरिरहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागमा ठूलो रकमको भ्रष्टाचार यो प्रकरणमा भइरहेको प्रारम्भिक निष्कर्ष अख्तियार निकालेको छ । तर यो प्रकरणका प्रमुख आरोपी भट्टराईलाई गृहमन्त्री लेखकले जोगाउन लागेको आरोप लागेको छ । विवादित पृष्ठभूमिका भट्टराईलाई पहिले अध्यागमन विभागको प्रमुख बनाएर पठाउने अनि अख्तियारले अनुसन्धान थालेको थाहा हुनासाथ रातारात गृह मन्त्रालयमा फर्काउने कार्यमा गृहमन्त्री लेखकको भूमिका रहेको विपक्षीहरुको आरोप छ । तर गृहमन्त्री लेखकले कुनै कर्मचारीमाथि अनुसन्धान थाल्नासाथ मन्त्रीकै राजीनामा गर्ने संस्कृति थाल्न नहुने तर्क गरेका छन् । उनले आफ्नो संलग्नता पुष्टि भए गृह मन्त्रीबाट मात्र नभएर राजनीतिबाटै विदा हुने सार्वजनिक घोषणा पनि गरेका छन् ।
यद्यपि विपक्षीहरुको माग बमोजिम राजीनामा दिन नसकिने सन्देश गृहमन्त्री लेखकले दिएका छन् । किनकि उनले संसद्बाट सम्बोधन गर्ने विकल्प रोजेका छन् । जबकि गृहमन्त्री लेखक अहिले पुर्पक्षका लागि थुनामा रहेका रवी लामिछानेको उत्तराधिकारीका रुपमा गृह मन्त्रालय आएका हुन् । र लामिछाने नेपाली कांग्रेसकै माग बमोजिम सहकारी बचत रकम ठगी अनुसन्धानका क्रममा थुनामा परेका हुन् । अझ रोचक त यिनै गृहमन्त्री लेखकले रवी लामिछानेविरुद्ध चर्को आवाज उठाएका थिए । गृहमन्त्री रहँदासम्म रवीमाथि निष्पक्ष छानबीन हुन नसक्ने तर्क लेखकले त्यसबेला गरेका थिए । नभन्दै रास्वपाका सभापति रवी लामिछानेमाथि संसदीय छानबीन भयो, रवीमाथि कार्बाही चलाउन सिफारिस गरियो । उनै लेखक माथि अहिले मानव तस्करी प्रकरणमा जोडेर आरोप लागेको छ । आफ्नै मातहतका कर्मचारीमाथि अनुसन्धान अगाडि बढेको छ । यस्तो बेलामा गृहमन्त्री लेखक र त्यो भन्दा पनि कांग्रेसले गम्भीर भएर सोच्न आवश्यक छ । अझ वर्तमान सत्ता गठबन्धन निर्माणको पृष्ठभूमि हेर्दा त लेखकले गृहमन्त्रीबाट राजीनामा दिएर अगाडि बढ्दा राम्रो हुन्छ । किनकि यो सरकार निर्माण हुनुको कारण सुशासन, राजनीतिक स्थायित्व र मुलुकको समृद्धि हो । क