सुनवल : 'विद्यालय पढ्ने ठाउँ मात्र होइन, काम गरेर सिक्ने प्रयोगशाला पनि हो' यो भनाइलाई व्यवहारमा उतारेको छ, सुनवल नगरपालिका-७ स्थित जनज्योति आधारभूत विद्यालयले । विद्यालयको परिसरमा विद्यार्थीहरूले उत्पादन गरेका घिरौंला, बोडी, करेला, फर्सी, टमाटर र मकै अहिले दिवा खाजाको परिकार बन्ने गरेको छ ।
कितावी ज्ञान मात्र होइन व्यवहारिक शिक्षालाई जोड दिने विद्यालयको नीति अहिले नियमित अभ्यास बनेको छ । विद्यार्थीहरू पाठ्यपुस्तकको पढाइसँगै खेतबारीको व्यवहारिक ज्ञानमा पनि रमाइरहेका छन् ।
“विद्यार्थीले आज मात्रै दोस्रो छाकमा घिरौंला खाए । पहिले टमाटर फल्यो, तर अहिले सकिएको छ । अहिले चाहिँ बोडी मात्र बाँकी छ,” विद्यालयका शिक्षक राजेश तिवारीले भने, “फर्सीका मुन्टाहरू चाहिँ जाउलोमा हालेर खुवाउने गरेका छौं ।” उनका अनुसार मकैको पहिलो लट भाँचिसकिएको छ भने दोस्रो लटको तयारी भइरहेको छ । पहिले गोभी र बन्दा पनि फलाएर विद्यार्थीले दिवा खाजा खाएको उनले बताए ।
विद्यालयमा करेसा बारी सुनवल नगरपालिकाले स्थानीय पाठ्यक्रममा समावेश गर्नुका साथै विद्यालयमा बजेट पनि विनियोजन गरेको छ । यसले पनि बिउ विजन र मल खरिदलाई सहज भएको विद्यालयकी प्रधानाध्यापक सावित्री कुमारी राना बताउँछिन् । विद्यालयमा व्यवहारिक शिक्षाको अभ्यासका रूपमा सुरु गरिएको करेसाबारी अभियानले विद्यार्थीलाई उत्पादनमा समेत अभ्यस्त बनाएको छ । उनी भन्छिन्, 'केही पिरियडमा पढाइ सकेपछि विद्यार्थीहरू खुसी हुँदै करेसाबारीतिर लाग्छन् । विद्यार्थीहरू करेसाबारीतिर जान पाउँदा रमाउँछन् ।'
शिक्षक बिदामा बसेको समय, दिउँसो खाजा खाने समय र आवश्यकता परेको बेला छुट्टीको दिन पनि विद्यार्थीहरू उत्साहित भएर विद्यालय आउँछन् र दिनभरि नर्सरी तथा तरकारी खेतीमा रमाउँछन् ।
जनज्योति आधारभूत विद्यालयमा सञ्चालन गरिएको करेसाबारीले केवल तरकारी मात्रै फलाएको छैन, विद्यार्थीको सोच, दृष्टिकोण र सीप पनि हुर्काइदिएको छ । यस्तो व्यवहारिक अभ्यासले ग्रामीण विद्यालयमा शिक्षालाई जीवनोपयोगी बनाउन मद्दत गरेको जानकारहरू बताउँछन् ।