काठमाडौं : सगरमाथा संवादले हिमाली क्षेत्र केन्द्रित जलवायु कोष स्थापना गर्न विश्वको ध्यनाकर्षण गराएको छ । काठमाडौंमा तीन दिनसम्म चलेको सगरमाथा संवाद २५ बुँदे 'सगरमाथा कल फर एक्शन' घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
घोषणापत्रमा जलवायु परिवर्तनले पर्वतीय क्षेत्रमा पारेको असरमा जलवायु वित्तको आवश्यकता भएकोले हिमाल केन्द्रित जलवायु केन्द्र स्थापना गरेर जानुपर्नेमा विश्व नेताहरु एकमत भएका छन् । सगरमाथा संवादले जलवायु परिवर्तनको समस्यासँग जुध्न जलवायु वित्त परिचालन गर्न जोड दिएको छ ।
जलवायु परिवर्तनका समस्या भोगिरहेका हिमाली देशहरुले अनुदान स्वरुप वा सहुलियतपूर्ण ऋण पाउने कुरालाई प्राथमिकतामा राख्नुपर्ने बताइएको छ । साथै जलवायु वित्तको पहुँच र परिचालन विधि सरल हुनुपर्ने, विश्वको औषत तापमान १.५ डिग्रिबाट बढ्न नदिनको लागि सबै राष्ट्रहरुले आफ्ना जलवायु योजना सशक्त बनाउनुपर्ने कुरामा घोषणापत्रले जोड दिएको छ ।
हरित अर्थतन्त्र बनाउन सबैको प्रयास जरुरी रहेको र पर्वतसम्बन्धी छलफलहरु थप विस्तार गर्दै लगिने कुरामा जोड दिइएको छ । विपद् पूर्वसूचना प्रणालीलाई अझै सशक्त र प्रभावकारी बनाउनेमा पनि सगरमाथा संवादले जोड दिएको छ ।
जलवायु परिवर्तनले बाढी, खडेरी, भूस्खलन र समुद्री सतह वृद्धिजस्ता जोखिम निम्त्याइरहेकाले हिमाली देशहरूका लागि छुट्टै कोष स्थापना, जलवायु वित्तको सरल पहुँच र निजी क्षेत्रको लगानी वृद्धिको प्रस्ताव पनि घोषणापत्रमा गरिएको छ ।
हिमाली क्षेत्रमा बसोवास गरिरहेका समुदायहरूले हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान गरे पनि जलवायु परिवर्तनको असमान प्रभाव व्यहोरिरहेका छन् । यसलाई सम्बोधन गर्न जलवायु न्याय, स्थानीय, आदिवासी, महिला, युवा, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको सहभागिता, र पर्यावरणीय सेवाहरूको भुक्तानी संयन्त्र विकासमा जोड दिइएको छ ।
सगरमाथा संवादमा विशेष रुपमा हिमाल केन्द्रित बहु–सरोकारवाला अन्तर्राष्ट्रिय मञ्च र ज्ञान केन्द्रहरू स्थापना गरी हिमाली समुदायको आवाज विश्व मञ्चमा पुर्याउने प्रतिबद्धता जनाइएको छ । सगरमाथा संवादले स्थायी रुपमा हिमालदेखि समुन्द्रसम्म जलवायु परिवर्तनको साझा चुनौती वकालत गर्न, सम्बोधन गर्न दबाब दिन र विश्वव्यापी संवादलाई निरन्तर अगाडी बढाउने लक्ष्य राखिएको छ ।