काठमाडौं : नेपाल महिला क्रिकेट टोलीले आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर 'थ्री' चरणमा स्थान सुरक्षित गरेको छ ।
शुक्रबार हङकङ र बहराइनबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपाल सुपर 'थ्री'मा प्रवेश गर्न सफल भएको हो । नेपाल र हङकङ दुवैको समान ५-५ अंक भए पनि नेपालले बढी जित निकालेकाले अगाडि बढ्ने अवसर पाएको हो ।
नेपालले समूह चरणमा ४ खेल खेलेको थियो, जसमा २ खेलमा जित, १ मा हार र १ खेल वर्षाले प्रभावित हुँदा कुल ५ अंक जोड्न सफल भयो । हङकङले भने ४ खेलमध्ये १ मा मात्र जित निकाल्न सक्यो भने बाँकी ३ खेल वर्षाका कारण बिना नतिजा समाप्त भएका थिए ।
प्रतियोगितामा सहभागी ९ टोली तीन समूहमा विभाजित थिए, जहाँ प्रत्येक समूहबाट शीर्ष टोलीहरूले सुपर 'थ्री' चरणमा स्थान बनाएका छन् । अब सुपर 'थ्री'मा टोलीहरूले एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन्, जसबाट शीर्ष दुई टोली विश्वकप ग्लोबल छनोटमा प्रवेश गर्नेछन् ।
सुपर 'थ्री' चरणमा नेपालले अब बलिया टोलीहरू संयुक्त अरब इमिरेट्स (यूएई) र थाइल्याण्डसँग खेल्नेछ । यी खेल नेपालका लागि निर्णायक हुनेछन् ।