काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगार विभागमा वैदेशिक रोजगार ठगीका उजुरी अस्वभाविकरूपले बढेको बताएका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको प्रतिनिधिमण्डलसँगको छलफलमा मन्त्री भण्डारीले वैदेशिक रोजगार क्षेत्रमा सुधार गर्नुपर्ने प्रसंग उठाउँदै वैदेशिक रोजगार विभागमा ३६ सय उजुरी पुगेको बताए । उनले भने, ‘यस समस्याको समाधान हुनुपर्छ ।’
संघका अध्यक्ष भुवनसिंह गुरुङले यी उजुरी संस्थागत नभइ व्यक्तिगत भएको दाबी गरे । त्यसलाई स्पष्ट पार्दै मन्त्री भण्डारीले भने ‘व्यक्तिगत भनेपनि त्यसमा प्रत्यक्ष–अप्रत्यक्ष को–को जोडिएका छन्, कतिपय व्यवसायी पनि जोडिएका होलान् । छानबिन हुनुपर्छ ।’