नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चौथो पटक प्रधानमन्त्री पदको शपथ लिएपछि गरेको पहिलो निर्णय नै घोषित मितिमा सम्पन्न नहुने भएको छ । गत वर्ष ३१ असारमा प्रधानमन्त्री नियुक्त ओलीले ३०० दिनभित्र कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा फ्लडलाइट जडान र प्यारापिटसहितको आधुनिक रंगशाला बनाउने निर्णय गरेका थिए । आफ्नो पहिलो निर्णयलाई प्रधानमन्त्री ओलीले सामाजिक संजालबाटै सार्वजनिक गरेका थिए । युवा पुस्ताबीच क्रिकेट लोकप्रिय रहेकाले प्रधानमन्त्री ओलीले मिति तोकेरै आधुनिक रंगशाला निर्माणको प्रतिबद्धता गरेका थिए । तर, आफ्नो बचनबद्धता बमोजिमको ३०० दिन पुग्न २ दिन बाँकी रहँदा प्रधानमन्त्री ओलीले सामाजिक संजालबाटै रंगशालाको काम हुन नसकेको जानकारी दिएका छन् ।
तर, फ्लडलाइट र प्यारापिटसहितको रंगशाला बनाउन नसकिएको दोष प्रधानमन्त्री ओलीले आफूले लिएका छैनन् बरु शहरी विकास मन्त्रालय र ठेकेदारलाई दोष दिँदै लेखेका छन्– ‘कारण जेसुकै भए पनि तोकिएको दिनमा काम पूरा हुनुपथ्र्यो । थपिएको दिनमा काम पूरा नभए सरकारलाई सह्य नहुने जानकारी गराएको छु । असारको अन्तिम सातासम्म पक्कै हामीले कीर्तिपुरमा रंगशाला पाउने छौं ।’ प्रधानमन्त्रीको स्टाटसबमोजिम जग्गा प्राप्तिमा ढिलाइ हुनु, रूख पन्छाउने प्रक्रियाको कानुनी समयसीमा र पानी परेकाले समयमा काम हुन नसकेको हो । तर, समयमा काम सम्पन्न हुन नसकेकोप्रति प्रधानमन्त्री ओलीमा कुनै अप्ठ्यारो अनुभूति भएको देखिँदैन जबकि आफैंले प्रतिष्ठाको परियोजना बनाइसकेपछि त्यसको बेलाबेला आवधिक अनुगमन गरिनुपथ्र्यो । समस्याहरू सार्वजनिक गरिन्थ्यो भने प्रधानमन्त्रीकै विश्वास बढ्ने थियो ।
तर, आफैंले कबोल गरेको समयमा क्रिकेट मैदान नबन्ने भएपछि प्रधानमन्त्री ओली जोगिन खोजेका प्रस्ट हुन्छ । यसले प्रधानमन्त्री ओलीकै उचाइ घटाएको छ । युवा पुस्ताबीच त एक पटक फेरि विश्वास गुमेको छ किनकि उनीहरू काम हुन नसक्नुको कारण नभएर परिणाम चाहन्छन् । र, प्रधानमन्त्री ओलीले परिणाम दिन सकेनन् । प्रतिष्ठासँगै जोडेर प्रचार गरिएको परियोजना सम्पन्न गर्न नसक्नुको अर्थ प्रधानमन्त्री ओलीका अरू काम पनि शंकामा पर्नु हो । सबभन्दा महत्त्वपूर्ण कुरा त प्रधानमन्त्री ओलीमा कमजोरी स्वीकार्ने संस्कृति नदेखिनु हो । यस्तो प्रवृत्तिले प्रधानमन्त्री ओलीको बोलीमा विश्वास कमजोर हुन सक्छ । त्यसैले, कीर्तिपुर क्रिकेट परियोजनामा देखिएको त्रुटिबारे प्रधानमन्त्री ओलीले बहुआयामिक समीक्षा गर्न जरुरी छ ।