२०८२ वैशाख २१ गते आइतवार / May 04 , 2025 , Sunday
२०८२ वैशाख २१ गते आइतवार
Ads

कक्षा १२ को परीक्षा आजदेखि 

मध्यान्ह
२०८२ वैशाख २१ गते ०६:५३
कक्षा १२ को परीक्षा आजदेखि 

काठमाडौं : कक्षा १२ को परीक्षा आइतबारदेखि स‌ंचालन हुँदै छ । परीक्षामा ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुने छन् ।

नेपाल शिक्षक महासंघको शैक्षिक हडतालसहितको काठमाडौं केन्द्रित सडक आन्दोलनले ११ वैशाखदेखि तोकिएको परीक्षा १० दिन पछाडि सरेको थियो । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले विज्ञप्ति जारी गर्दै परीक्षालाई स्वच्छ, मर्यादित, अनुशासित, व्यवस्थित र विद्यार्थीमैत्री बनाउन अपिल गरेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस पटक नियमिततर्फ ३ लाख ९५ हजार ९०८ र आंशिक १ लाख १५ हजार ६१७ जना विद्यार्थी सहभागी हुँदै छन् । ५ हजार २०२ विद्यालयका विद्यार्थीलाई कक्षा १२ को परीक्षा दिन १ हजार ५९१ परीक्षा केन्द्र तोकिएको छ ।
तीमध्ये जापानस्थित एभरेस्ट स्कुलबाट ३८ जना विद्यार्थी त्यहीँको केन्द्रबाट परीक्षामा सहभागी हुने छन् । ७७ जिल्लामध्ये सबभन्दा थोरै मनाङबाट ४५ जना र काठमाडौंबाट ६८ हजार १३३ जना परीक्षार्थी छन् । मनाङ, मुस्ताङमा १÷१ वटा र काठमाडौंमा सबैभन्दा धेरै १६२ वटा परीक्षा केन्द्र तोकिएको बोर्डले जनाएको छ ।

२ जेठसम्म संचालन हुने परीक्षामा ४८ हजार २०९ जना जनशक्ति खटिने छन् । कर्णाली प्रदेशबाट सबैभन्दा कम ३८ हजार ८८८ र बाग्मती प्रदेशबाट सबैभन्दा धेरै १ लाख ३५ हजार २४० परीक्षार्थी सहभागी हुँदै छन् । बोर्डका अनुसार कोशीबाट ८२ हजार ८७१, मधेशबाट ६९ हजार ८०८, गण्डकीबाट ४३ हजार ३४९, लुम्बिनीबाट ९० हजार ६७८ र सुदूरपश्चिमबाट ५० हजार ६५४ जना विद्यार्थी सहभागी हुँदै छन् ।

परीक्षाको अनुगमन र निरीक्षण गर्न प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला परीक्षा समन्वय समिति गठन गरिएको छ । समितिले परीक्षा अनुगमन तथा पर्यवेक्षणको काम गर्ने छ । परीक्षा संचालन अवधिभर केन्द्राध्यक्षबाहेकलाई परीक्षा केन्द्रमा मोबाइल फोन लैजान बोर्डले रोक लगाएको छ । परीक्षा केन्द्रहरूमा विद्युतीय माध्यमबाट प्रश्नपत्र पठाइने व्यवस्था गरिएको शर्माले बताए ।
प्रत्येक विषयमा सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी नतिजा प्रकाशनमा ननग्रेडिङ हुने लेटर ग्रेडिङ निर्देशिका, २०७८ ले व्यवस्था गरेको छ ।

शिक्षक आन्दोलनका कारण रोकिएको एसईईको उत्तरपुस्तिका परीक्षणको काम पनि सुरु भएको बोर्डले जनाएको छ । १८ चैतमा सकिएको उत्तरपुस्तिका परीक्षणमा शिक्षक सहभागी नहुँदा झन्डै ३ साता ढिलाइ भएको छ । बोर्डले असार पहिलो साता एसईईको नतिजा सार्वजनिक गर्ने कार्यतालिका रहे पनि केही साता ढिलाइ हुने अनुमान गरिएको छ ।

ADV

सम्बन्धित खबर