२०८२ वैशाख १९ गते शुक्रवार / May 02 , 2025 , Friday
२०८२ वैशाख १९ गते शुक्रवार
Ads

भवानी खतिवडाको ‘प्रणाम सगरमाथा’ सार्वजनिक

मध्यान्ह
२०८२ वैशाख १९ गते ०९:३३
भवानी खतिवडाको ‘प्रणाम सगरमाथा’ सार्वजनिक

काठमाडौँ : नियात्राकार भवानी खतिवडाको चौथो नियात्राकृति ‘प्रणाम सगरमाथा’ सार्वजनिक भएको छ । बिहीबार काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा आयोजित एक विशेष समारोहमा नियात्राकार घनश्याम राजकर्णिकार, नियात्राकार इल्या भट्टराई, पेज टर्नरका अध्यक्ष भुवनहरि सिग्देल, कवि तथा नाटककार अशेष मल्ल, समालोचकहरू डा. अशोक थापा र महेश पौड्याल तथा लेखक स्वयंले उक्त कृतिको लोकार्पण गरेका हुन् ।

यस अवसरमा आयोजित अन्तरक्रियामा सहभागी नियात्राकार इल्या भट्टराईले भवानीको यस कृतिले उच्च हिमाली भेगको एक विशिष्ट अनुभूति पाठकसँग बाँड्न सफल भएको बताइन् । उनले भनिन्, ‘अन्यत्र पाइने सूचना शुष्क हुन्छ । यस कृतिले बाँड्ने अनुभूति सरस र विशिष्ट छ ।’

समालोचक पौड्यालले नियात्राबाट निजात्मकता हराउँदै गएको वर्तमान सन्दर्भमा भवानी खतिवडाले सरसता र निजात्मकता दुवैको सम्यक मिश्रण प्रस्तुत गरेको टिप्पणी गरे । उनले भने, ‘खतिवडाको लेखनमा उच्च हिमाली जनजीवन र हिमाली भव्यताका झिल्का पाइन्छन् । एक आमनेपाली नारीका लागि एक्लै यति दुष्कर भूगोलको यात्रा गर्नु र त्यसलाई कृतिको आकार दिनु आफैंमा एक विशिष्ट प्राप्ति हो ।’ परिचर्चाको सहजीकरण समालोचक डा. थापाले गरेको थिए । 

सोही अवसरमा सर्वनाम थिएटरले विमोचित कृतिभित्रका केही प्रसंग समेटर नाटकको प्रदर्शन पनि गर्‍यो । सर्वनामको एक्काइसौं ब्याचका विद्यार्थीहरूले अभिनय गरेको उक्त नाटकमा उच्च हिमाली भेगमा भेटिने मौसमको अनिश्चितता, जीवनको जोखिम र त्यहाँ जीविका चलाउनकै लागि पर्यटकका भारी बोक्ने श्रमिक वर्गको मर्मकथा समेटिएको थियो । 

नियात्राकार खतिवडाले भनिन्, ‘लेखन मेरो साधना हो । मैले परिवार र छोरा-छोरीप्रतिको जिम्मेवारीलाई एउटा मुकामसम्म पुर्‍याइसकेकी छु । मेरो बचेको समय भनेको साहित्य साधनाकै लागि हो ।’ उनले आफू एक श्रद्धालु बनेर हिमाली भेगको यात्रामा जाने र आफू स्पर्शित भएका प्रसंग टिपेर त्यसलाई नियात्राको रूप दिने गरेको बताइन् । 

कृतिलाई पेज टर्नरले बजारमा ल्याएको हो । यसअघि खतिवडाका 'घामभन्दा पहिले', 'चारखोलाको आँगनीमा' र 'आकाश ओढेको डोल्पो' प्रकाशित छन् । 

यसै कार्यक्रममा खतिवडाकै नेतृत्वमा प्रकाशन संस्था पेज टर्नरले क्यान्सरसँग लडिरहेका कवि गोविन्दराज विनोदीको उपचारचार्थ चलाएको सहयोग अभियानमा जुटेको ४ लाख ५५ हजार ३५६ रुपैयाँ कवि विनोदीकी छोरीलाई हस्तान्तरण गर्‍यो । रकम नियात्राकार घनश्याम राजकर्णिकारले कवि विनोदीकी छोरीलाई हस्तान्तरण गरेका थिए ।

ADV

सम्बन्धित खबर