काठमाडौं : सरकार र शिक्षक महासंघबीच बुधबार भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै विद्यालय कर्मचारी परिषद्ले विरोध जनाएको छ ।
सरकार र महासंघबीच बुधबार भएको सहमतिबारे जानकारी दिन काठमाडौंमा आयोजित कार्यक्रममा विद्यालय कर्मचारीहरुले असन्तुष्टि जनाउँदै महासंघ नेतृत्वमाथि नाराबाजीसमेत गरे ।
विद्यालय कर्मचारीहरुले आफूहरुको माग समावेश नगरेको भन्दै प्रश्न उठाएका थिए । आफूहरुको माग सम्बोधन नभएको भन्दै विद्यालय कर्मचारीहरुले असन्तुष्टि जनाएको महासंघका सहअध्यक्ष नानुमाया पराजुलीले जानकारी दिइन् । उनले आन्दोलनको उपलब्धिबारे जानकारी दिन कार्यक्रम आयोजना गरिएको बताइन् । सहमध्यक्ष पराजुलीले सरकारसँगको ९ बुँदे सहमति सम्पूर्ण शिक्षक र विद्यालय कर्मचारीको उर्जाको प्रतिफल भएको बताए । त्यसैले ऐन जारी नभए अझ ठूलो आन्दोलन चर्काउने उनले स्पष्ट पारिन् ।
उनले आन्दोलन अझैपनि जारी रहेको र शिक्षक कर्मचारीको मागमा कुनैपनि हालतमा पछि नहट्ने प्रतिबद्धता व्यक्त गरिन् । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट छोटो समयमा पारित गर्ने र आफ्ना मागहरु सम्बोधन गर्ने विषयमा सहमति भएको उनको भनाइ थियो ।
विद्यालय शिक्षा ऐन जारीलगायतका माग राखेर गत चैत २० गतेदेखि सडक आन्दोलन गरिरहेका शिक्षकहरुले बुधबारमात्र सरकारसँग ९ बुँदे सहमति गर्दै आन्दोलनका कार्यक्रम स्थगित गरेका थिए ।